नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुन सक्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले नेपाली सेनालाई महत्वकांक्षा बढ्न दिनु नहुने बताएका हुन्।
उनले नेपाली सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो भनि प्रश्न समेत गरे।
‘हामीहरू त्यस्तो संवेदनशील जुन अंग छ, जुन संस्था, संरचना छ नेपाली सेना। त्यसलाई हामी व्यापार गर्न दिन्छौँ। त्यसलाई हामी ठेक्कापट्टा गर्न दिन्छौँ। सुरक्षाको हिसाबले, संवेदनशीलताको हिसाबले यो कुरा कत्तिको जायज हो? आज कुनै नेताले यो कुरा मुख खोल्न सक्दैन होला,’ उनले भने, ‘धेरै महत्वकांक्षी बन्यो भने त्यसले हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि विभिन्न देशको घटना हेर्दाखेरी त्यस्तो महत्वकांक्षा बढ्दाखेरी के हुन्छ? संकट पैदा भएको देखेको छैन ? हामीले देखेको छौं नि।’
उनले नेपाली सेनालाई अझै आधुनिकीकरण, सक्षम र लोकतान्त्रिकरण गर्नुपर्ने बताए। उनले नेपाली सेनाभित्र गणतन्त्र नआएको टिप्पणी गरे। उहाँले राष्ट्रिय सुरक्षा नीतिमा समयानुकुल सुधार गर्नुपर्नेमा जोड दिएका थिए।
‘नेपाली सेनाको अझै आधुनिकीकरण, पेशागत हिसाबले अझै सक्षम संस्था बनाउनु जरुरी छ। त्यहाँ भित्रका धेरै कुराहरू लोकतान्त्रिकरण हुन सकेका छैनन्। त्यहाँ गणतन्त्र आएको छैन भन्ने लाग्छ मलाई। यसको आन्तरिक जीवनको व्यवस्थापनको लागि पनि रक्षा मन्त्रालयले केही न केही नीति बनाउनुपर्छ,’ उनले भने।