राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टी खोल्ने बेलाका प्रसंग निकाल्दै मूर्धन्य मानिसहरूसँग मिल्ने चक्करमा तीन महिना नहिँडेको भए थप २० सिट पनि जित्ने बताएका छन्।
पार्टी खोलेको पाँच महिनामा प्रतिनिधि सभा चुनावमा होमिन परेको र त्यसमध्ये तीन महिना कसैसँग मिल्न हिँडेको उनले बताएका हुन्।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै लामिछानेले मिलेर वा मोर्चा बनाएर जाने कुरामा आफूलाई आफ्नै अनुभवले त्यतिधेरै विश्वास नलाग्ने पनि बताए।
‘राजनीतिक दल सुरू गरेपछि पाँच महिनामा निर्वाचनमा होमिऔं। तीन महिना म यही मिल्ने चक्करमा हिँडे, अलिकति प्रोफाइल भएका, चिनेका मान्छेहरू सँग मिल्न पाए त, हुन त त्यो मेरो अलिअलि टेलिभिजनको लोकप्रियता हो। कयौं मूर्धन्य मानिसहरूसँग मिल्ने भन्दै म गएँ, पत्याए पो, पार्टी सभापति तपाईं नै हो भन्छु ठिक छ, राम्रो गर्दै जानुस् पछि हेरौंला नि भन्नुभयो,’ पुराना कुरा सम्झँदै उनले भने।
तीन महिना मिल्ने चक्करमा नहिँडेको भए अर्को २० सिट जित्ने उनको दाबी छ।
‘मेरो तीन महिना खेर गयो। त्यो तीन महिना मिल्ने चक्करमा म नहिँडेको भए अर्को २० सिट जित्थें,’ भट्टराईलाई लक्षित गर्दै उनले भने, ‘मिल्ने भन्ने कुरा बसेर छलफल गर्दै गरौंला भन्छन्। यो मिल्ने कुरा मेरो अनुभव मीठो छैन।’
रास्वपाले २०७९ को मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष र समानुपातिक गरी २० सिट र २०८० वैशाखमा भएको उपनिर्वाचनमा एक सिट गरी कूल २१ सिट जितेको थियो। समानुपातिकमा १४ र प्रत्यक्षमा ७ सिट रास्वपाले जितेको थियो।
यो पनि: केही पनि भएन भन्नेलाई सन्देश भन्दै गृहमन्त्री लामिछानेले भने- मधेसमा जनमत, संघमा रास्वपा सरकारमा छ