सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले नेपाली सेनाका जमदारको बढुवा जातीय कारणले रोकिएको दाबी गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोलेका उनले दलित भएकै कारण जमदार अम्मरबहादुर सुनारको बढुवा रोकिएको दाबी गरेका हुन्।
सुनारलाई बढुवा गर्न सूचना नै प्रकाशन गरे पनि दर्ज्यान्ही चिन्ह लगाउने बेलामा बढुवा रोकिएको उनको भनाइ छ।
‘यो जातीय विभेदको जरो समाजमा कति धेरै गहिरोसँग गडेको हुँदो रहेछ भन्ने उदाहरण रक्षा मन्त्रालयबाट प्राप्त भएको छ,’ उनले भने, ‘सैनिक अम्मरबहादुर सुनार जमदार भएको ७ वर्ष भयो। सुवेदारको स्थान रिक्त भइसकेपछि रोल क्रममा अगाडि परेका अम्मरबहादुरलाई ७ दिने सूचना प्रकाशन गरी दर्ज्यान्ही चिन्ह ठिकठाक पारियो। तर दलित भएकैले दर्ज्यान्ही चिन्ह नलगाएको अनुभूत हुन्छ।’
सैनिक प्रशासन तथा व्यवस्थापन महाशाखामा उनको फाइल अड्काएको पनि उनले बताए। ‘तलब स्केल पास नगरी बढुवा रोक्का भएको रहेछ। यसरी समाजमा जातीय कारणले विभिन्न किसिमको घटना भएको छ,’ उनले भने।