प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्त र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सांसद प्रदीप पौडेल लगायतले माग गरेका थिए।
प्रधानमन्त्री दाहालले बिहीबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति पौडेलले गरेको स्वीटजरल्याण्ड र जर्मनी भ्रमण तथा आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन्।
प्रधानमन्त्री दाहालले यो पटक भारत भ्रमण विगतमा जस्तो कुनै एजेन्डा विशेषमा छलफल गर्न केन्द्रित नरहेको बताए।
‘यो पटकको मेरो भारत भ्रमण कुनै एजेन्डा विशेषमा छलफल गर्नका निम्ति थिएन,’ उनले भने। प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएका थिए।
सन् २०१४ मा मोदी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री सुशील कोइराला र २०१९ मा फेरि मोदी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओली गएको पनि उनको भनाइ थियो। यसपटक मोदी नै प्रधानमन्त्री हुने र लिखित आमन्त्रण भएपछि आफू भारत गएको उनले बताए।
प्रधानमन्त्री दाहालले जेठ २७ र २८ गते भारतको भ्रमण गरेका थिए। भ्रमणमा भएको गतिविधिबारे दूतावास र परराष्ट्र मन्त्रालयबाट जानकारी गराइएको पनि उनले बताए।
भिडिओ: