राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टी जोगाउने हो भने बोल्ड निर्णय गरेर जानुपर्ने बताएका छन्।
गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुम्दै नेता–कार्यकर्ताको सुझाव सुनेपछि उनले यस्तो निष्कर्ष निकालेको बताएका छन्।
पार्टी स्थापनाको दोस्रो वर्षगाँठको अवसरमा उनले सामाजिक सञ्जालमा पार्टी जोगाउने, नजोगाउने, हाम्रो औचित्य के हो जस्ता गम्भीर र उच्च संवेदनशील प्रश्न खडा भएको पनि बताएका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो? गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौं,’ उनले भनेका छन्, ‘यो प्रश्न आइसक्यो र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीले हामीमा केही परिवर्तन गरी अघि बढेनौं भने हाम्रा गाह्रा दिन सुरू भए।’
पार्टी जोगाउने हो, नेपाली जनताको आशा भरोसा जगाइ राख्ने हो भने पार्टीले उच्च सचेतनासहित जोखिम लिएरै भए पनि केही बोल्ड निर्णय गरेर जानुपर्ने महामन्त्री ढकालले बताएका छन्।
‘मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किदैनौं। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति विश्वास गरी यहाँसम्म ल्याइदिनु हुने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै दोश्रो वार्षिकोत्सवको शुभकामना एवं बधाई,’ उनले भनेका छन्।
इलाम क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा निर्वाचनामा धक्का व्यहोरेपछि रास्वपाले देशव्यापीरूपमा कार्यकर्ताकहाँ पुगेर पार्टी कामको सिंहावलोकन र समीक्षा गर्ने निष्कर्ष निकालेको थियो। पार्टी महामन्त्री डा. ढकाललाई देश दौडाहामा पठाउने र त्यसको प्रतिवेदन तयार पार्ने जिम्मा पनि दिएको थियो।
त्यसक्रममा ढकाले ३८ जिल्लामा पुगेका थिए। २ हजार ७९ जनासँग संवाद, अन्तरक्रिया र छलफल गरेको उनले बताएका छन्। ८० किलोमिटर पैदल र ४ हजार २१६ किलोमिटर सडकमार्गबाट यात्रा गरी सुझाव संकलन गरिएको उनले बताए।
असार ५ गते नागढुंगा सुरूङमार्फत काठमाडौं प्रवेश गरेका उनले यात्राका दौरान रचनात्मक सुझाव पाएको बताएका छन्। दुई वर्षमा उतारचढावपूर्ण यात्रा गरेकाले यसबीचमा पार्टीले गरेका कामहरूको निर्मम समीक्षा गरेर जानुपर्ने सुझाव आएको उनले बताए। त्यस्तै कतिपयले सरकारमा जानु गलत भएकोसमेत टिप्पणी गरेका छन्।
रास्वपा २०७९ असार ७ गते गठन भएको थियो। निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको हो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर २, ६, ७, ८, चितवनको क्षेत्र नम्बर १ र २ जितेको रास्वपाले समानुपातिकमा १४ सिटसहित २० स्थान ल्याएर चौथो शक्ति बनेको थियो। २०८० वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर एक समेत जितेको थियो।
यसैबीच रास्वपाले आज बिहान साढे ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ। केन्द्रीय कमिटीमा पार्टी स्थापना दिवसको शुभकामना आदान–प्रदान हुनेछ। आज रास्वपाले दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम पनि राखेको छ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा गर्न लागिएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, संघीय सांसदहरू, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा अंगका प्रमुख, पार्टीका समर्थक, शुभेच्छुकहरूलाई आमन्त्रण गरिएको रास्वपा संसदीय दलका सचेतक निशा डाँगीले जानकारी दिइन्।