बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन्।
आइतबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक राखिएको थियो।
सोही बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएका हुन्।
उनले बहुमत प्राप्त हुने आधार नभएका कारण मार्गप्रशस्त गर्ने बताएका हुन्।
'महत्वपूर्ण कुराहरू प्रदेश सभामा रेकर्डमा दर्ज गर्नुपर्छ भनेर बैठकको माग गरेको हुँ। तर पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने अवस्था बनिसकेको अवस्थामा हामीले लिने विश्वासको मतले सार्थकता पाउँदैन। त्यसकारण विश्वासको मत नलिने र अहिलेको समीकरण अनुसार सरकार गठनका लागि मार्गप्रशस्त गरिदिने निर्णय गरेका छौं,' उनले भने।
प्रदेश सभा बैठकअघि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकबाट उनलाई राजीनामा दिन सुझाएको थियो।
जम्कट्टेलले संसदमा रचनात्मक प्रतिपक्षीको भूमिकामा रहने प्रतिबद्धता पनि व्यक्त गरे।