लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुन (सिजल) ले जाँदा जाँदै आइतबार बिहान दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आइ ‘अटोमेटिक कल्चर सेटअप मेसिन’ को उद्घाटन गरेका छन्।
यो मेसिन खरिद गर्न प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा बजेट विनियोजन गरेको थियो। प्रदेश सरकारले बजेट उपलब्ध गराएपछि यो अस्पतालले टेन्डर आह्वान गरी आधा करोड बढी मूल्यमा कल्चर मेसिन खरिद गरेको हो।
‘आजै प्रदेश सभामा बहुमत शिद्ध हुन नसके मुख्यमन्त्री लगायत म पनि पदमुक्त हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘आजै मन्त्री पद जाँदै गरेपनि मलाई मेसिन उद्घाटन गर्ने अवसर प्रदान गर्नुभएकोमा म आभारी छु।’
झन्डै एक सय दिन मन्त्री हुँदा प्रदेशकव आधारभूत स्वास्थ्यका समस्या पहिचान गर्ने अवसर पाएको उनले बताए।
राप्ती प्रादेशिक अस्पताल उद्देश्य अनुसार सञ्चालन हुन नसकेको र बिरामीको अपेक्षा अनुसार सेवा नपाएको उनले बताए।
‘म जाँदै गरेको मन्त्रीले धेरै कुरा भन्दा त्यति राम्रो नहोला,’ उनले भने, ‘अस्पतालले भने जस्तै गरी संचालन गर्न दिन गन्दै नबस्नुहोला बरू तदारुकताका साथ काम गर्नुहोला।’
अस्पतालमा जनशक्तिको कमी रहेपनि जनशक्तिको सही सदुपयोग र समयको व्यवस्थापन गर्न जाने धेरै काम गर्न सकिने उनले विश्वास व्यक्त गरे।
त्यस्तै, उनले आफू भन्दा पहिलेको सरकारमा दाङकै मुख्यमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिव हुँदा पनि स्टाफ नर्स, चिकित्सक लगायत सहयोगीले वर्षदिन सम्म तलब नपाउनु आफैंमा मजाक भएको बताए।
अस्पतालमा कल्चर सेवा सुरू भएसँगै अबदेखि बिरामीले रगत, दिशा, पिसाब लगायतको चेकजाँचका लागि बाहिर निजी क्लिनिकहरू तथा ल्याबहरूमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका ल्याब इञ्चार्ज जयप्रकाश वलीले बताए।
सेवाग्राही तथा बिरामीले अबदेखि पहिले जस्तो कल्चरका लागि अस्पताल भन्दा बाहिर जानु नपर्ने हुँदा थप झन्झट तथा व्ययभार बेहोर्नु नपर्ने उनले बताएका थिए।
सिटी स्क्यान मेसिन बिग्रिएपछि तीन महिनादेखि बन्द छ सेवा
राप्ती प्रादेशिक अस्पतालमा सिटी स्क्यानिक मेसिन बिग्रिएर थन्किएको तीन महिना पुगिसकेको छ।
वैशाख १३ गतेदेदखि अस्पतालमा सिटी स्क्यान सेवा ठप्प छ। अस्पतालका रेडियोलोजिष्ट विप्लव रेग्मीले अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएपछि आफू कामबिहीन भएको बताए।
हल बिग्रिएर थन्किएको यो मेसिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले झन्डै ७ वर्ष पहिले खरिद गरी अस्पताललाई उपलब्ध गराएको प्रशासन शाखा प्रमुख रेश्मीराज अधिकारीले बताए।
हाल नयाँ खरिद गर्नु पर्दा उक्त मेसिनको मूल्य तीन करोड ८० लाख बढी पर्ने अस्पताल प्रशासन बताउँछ। बिग्रिएर मेसिन थन्किएपछि काठमाडौंबाट वैशाख अन्तिम तिर प्राविधिक चेकजाँच र मर्मतका लागि बोलाइएको थियो।
तर, उनीहरूले मर्मत खर्च ९५ लाख लाग्ने भनेपछि अस्पतालले त्यति पैसाको जोहो गर्न नसक्दा उनीहरू त्यसै फर्किएका थिए।
सिटी स्क्यान मेसिनको समस्या प्राविधिकहरूले औंल्याएको भएपनि त्यो मर्मत खर्चको जोहो गर्न नसक्दा सेवा ठप्प हुन पुगेको अस्पताल प्रशासनले जनाएको छ। जसले गर्दा दुर्घटनाका घाइते, कुटपिट तथा चोटपटक लागेका घाइते सेवाका लागि तुलसीपुरकै एक निजी प्रयोगशाला वा बाँकेका अस्पतालहरू जान बाध्य छन्।
अस्पतालमा सिटी स्क्यान सेवा तीन हजार पाँच सयमा हुन्थ्यो। तुलसीपुरमा निजी क्षेत्रको एउटा मात्रै सिटी स्क्यानिङ मेसिन उपलब्ध छ। उसले चार हजार शुल्क लिने गरेको छ।