नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको बताएका छन्।
भैरहवा विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै महरले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कुण्ठित हुने, खलल पुर्याउने, यसमा प्रतिबन्ध गर्ने र समस्या ल्याउने कुनै कुरामा कांग्रेसको सहमति नरहने बताए।
'सामाजिक सञ्जालको दुरुपयोग रोक्न र प्लेटफर्मलाई नियमन गर्न भन्दै सरकारले तयार गरेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ। यसले समग्र लोकतान्त्रिक प्रणालीलाई बचाउन अभिव्यक्ति र प्रेस स्वतन्त्रता आवश्यक छ भन्ने मर्मलाई बुझ्न सक्नुपर्छ। कांग्रेस लोकतन्त्रका यी आधारभूत विषयमा कसैसँग कम्परमाइज गर्न सक्दैन,' उनले भने।
कुनै बहानामा प्रेस स्वतन्त्रता र नागरिकको स्वतन्त्रतामाथि खलल पुर्याउने कार्य लोकतन्त्रका लागि स्वीकार्य हुन नसक्ने महरले बताए। आधुनिक विश्वमा नागरिकलाई सुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको महरको भनाइ छ।
उनले सूचना तथा सञ्चार प्रविधिको उपयोग विश्वसनीय, सुरक्षित र पहुँचयोग्य तुल्याउन सरकारले नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउनुपर्ने पनि बताए।
प्रजातन्त्रका आधारभूत विषयलाई खलल पुर्याउने कार्यमा कांग्रस नलाग्ने उनको भनाइ छ।
'प्रजातन्त्र कांग्रेसको प्राणवायु हो। प्रजातन्त्रको प्राणवायुसँग अभिव्यक्ति र प्रेस स्वतन्त्रता जोडिन्छ। यसका बारेमा हामी एकदम सचेत छौं। यो वा त्यो बहानामा कांग्रेस संलग्न सरकारले र संसद्को सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले यस्ता प्रकारका विधेयकलाई प्रशय दिँदैन,' उनले भने।