अमेरिकाको मध्यावधि निर्वाचनमा ठूलो पराजय व्यहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आफ्नै रिपब्लिकन पार्टीभित्रबाट नीति र कार्यशैली बदल्न दबाब बढेको छ।
डेमोक्रेटिक पार्टीले कंग्रेसमा नियन्त्रण कायम गर्नुका साथै महत्वपूर्ण निर्वाचन क्षेत्रमा ट्रम्पले समर्थन गरेका उम्मेदवारसमेत पराजित भएपछि रिपब्लिकन नेताहरूले उनलाई आफ्नो टिम र प्राथमिकता बदल्न आग्रह गरेका छन्।
रिपब्लिकन नेताहरू र राजनीतिक रणनीतिकारहरूले ह्वाइट हाउसका कर्मचारी फेरबदल गर्न, प्रशासनमा अनुशासन कायम गर्न र चुनावी हारको कारण बनेका नीतिहरू सच्याउन ट्रम्पलाई सुझाव दिएका छन्। उनीहरूले विशेषगरी इरानसँगको युद्ध र आयातमा लगाइएको भन्सार शुल्क (ट्यारिफ) लाई चुनावी हारको प्रमुख कारण मानेका छन्।
रिपब्लिकन पार्टीका अनुभवी रणनीतिकार जोन फिहेरीले चुनावी परिणामलाई ट्रम्पका लागि ‘ठूलो विपत्ति’ भनेका छन्। उनले ट्रम्पले ह्वाइट हाउसको टिम नै फेरबदल गर्नुपर्ने बताएका छन्।
‘उनले आफ्नो टिम सफा गर्नुपर्छ। अबको प्रत्येक दिनसँगै उनको राजनीतिक प्रभाव घट्दै जानेछ,’ फिहेरीले भने।
तर ट्रम्पले भने चुनावी परिणामलाई आफ्नो नेतृत्वमाथिको अस्वीकृतिका रूपमा लिन अस्वीकार गरेका छन्। मंगलबार राति फक्स न्युजसँग कुरा गर्दै उनले भने, ‘म यसलाई आफूमाथिको प्रहारका रूपमा लिँदिनँ।’
निर्वाचन परिणामपछि डेमोक्रेटिक पार्टीले कंग्रेसमा ट्रम्प प्रशासनका योजनाहरू रोक्न, प्रशासनमाथि छानबिन गर्न र उनले नियुक्त गर्न चाहेका अधिकारीहरूको नियुक्ति रोक्न सक्नेछ। यसले ट्रम्पलाई आफ्नो विधायी एजेन्डा अघि बढाउन कठिन बनाउनेछ।
त्यसैले ट्रम्पले कंग्रेसको अवरोध छल्न राष्ट्रपतीय कार्यकारी अधिकारको प्रयोग अझ बढाउन सक्ने अनुमान गरिएको छ। यसअघि पनि उनले आफ्नो नीतिगत एजेन्डा अघि बढाउन कार्यकारी अधिकारको व्यापक प्रयोग गर्दै आएका छन्।
तर पार्टीभित्रको असन्तुष्टि चुनावी परिणाममा मात्र सीमित छैन। सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न सक्ने नेताहरूले समेत ट्रम्पका केही नीतिबाट दूरी बनाउन थालेका छन्।
उपराष्ट्रपति जेडी भान्सले बुधबार इरान युद्धलाई मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको हारको कारण बताएका छन्। उनलाई ट्रम्पको सम्भावित राजनीतिक उत्तराधिकारीका रूपमा हेरिन्छ। भान्सको यो अभिव्यक्तिलाई ट्रम्पको नीतिबाट आफूलाई अलग देखाउने प्रयासका रूपमा हेरिएको छ।
रिपब्लिकन नेताहरू र रणनीतिकारहरूका अनुसार पार्टीभित्र ट्रम्पको प्रभाव कमजोर हुँदै गएको निष्कर्षमा पुगिए यस्ता असहमति अझ बढ्न सक्छन्।
ह्वाइट हाउसमा कर्मचारी फेरबदल र छानबिनको चिन्ता
निर्वाचन परिणामपछि ह्वाइट हाउसमा पनि कर्मचारी फेरबदल, मन्त्रिपरिषद्का सदस्य परिवर्तन र डेमोक्रेटिक पार्टीबाट हुन सक्ने संसदीय छानबिनको तयारी भइरहेको छ।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा रोयटर्ससँग कुरा गर्दै प्रशासनभित्र मनोबल निकै खस्किएको बताएका छन्।
‘अहिले यहाँ काम गर्नु निकै कठिन भएको छ। कर्मचारीको मनोबल सबैभन्दा तल्लो अवस्थामा छ,’ ती अधिकारीले भने।
उनका अनुसार निर्वाचन हुनुभन्दा छ साताअघि नै आन्तरिक सर्वेक्षणले रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदन गुमाउन सक्ने देखाएको थियो। तर इरान युद्धका कारण चुनावमा असर पर्न सक्ने चेतावनी दिँदा पनि ट्रम्पले आफ्नो निर्णय परिवर्तन गर्न मानेनन्।
‘अन्ततः उनलाई यसको कुनै मतलब नै थिएन। उनले कसैको कुरा सुन्न मानेनन्,’ ती अधिकारीले भने।
ट्रम्पले मंगलबार राति आठ महिनादेखि जारी इरान युद्धले रिपब्लिकन उम्मेदवारहरूलाई चुनावमा असर पारेको स्वीकार गरेका थिए। तर युद्ध सुरु गर्ने आफ्नो निर्णयको भने उनले बचाउ गरेका छन्।
रिपब्लिकन पार्टीभित्रको असन्तुष्टि इरान युद्धमा मात्र सीमित थिएन। मिशिगन र आयोवा जस्ता प्रतिस्पर्धात्मक राज्यमा गरिएको मतदाता समूह छलफलमा यसै गर्मीयामदेखि ट्रम्पको प्राथमिकताप्रति रिपब्लिकन र स्वतन्त्र मतदाताको असन्तुष्टि बढेको पाइएको थियो।
विशेषगरी ह्वाइट हाउसमा निर्माण भइरहेको नयाँ बलरूम र वासिङ्टनका सरकारी भवनहरूको पुनर्निर्माणमा ट्रम्पले दिएको प्राथमिकताप्रति मतदाताहरू असन्तुष्ट देखिएका थिए।
रिपब्लिकन पार्टीका एक राजनीतिक सल्लाहकारले ट्रम्पले आगामी दुई वर्ष पनि यस्तै विषयमा ध्यान केन्द्रित गरे अर्को निर्वाचनमा पार्टीले अझ ठूलो पराजय व्यहोर्न सक्ने चेतावनी दिएका छन्।
‘यदि ट्रम्पले आगामी दुई वर्ष पनि यही कुरा गरिरहे भने अर्को निर्वाचनमा हामी झन् नराम्रोसँग पराजित हुनेछौँ,’ ती सल्लाहकारले भने।
तर बुधबार पनि ट्रम्पले ह्वाइट हाउसमा निर्माण भइरहेको बलरूमको अवलोकन गर्न पत्रकारहरूलाई लगेका थिए। उनले उक्त परियोजनामा समय खर्चिनुको बचाउ गर्दै भने, ‘मेरा लागि यो आराम गर्ने कामजस्तै हो।’
ह्वाइट हाउसले भने सार्वजनिक रूपमा चुनावी परिणामप्रति कुनै नरम संकेत दिएको छैन। उसले सामाजिक सञ्जालमा ट्रम्पको तस्बिर राख्दै ‘सार्वजनिक जानकारीका लागि : ट्रम्प अझै पनि तपाईंका राष्ट्रपति हुन्’ भनेर लेखेको छ।
चुनावी हारका बाबजुद ट्रम्पसँग अझै कार्यकारी अधिकारको ठूलो शक्ति छ।
रोयटर्सका अनुसार ह्वाइट हाउसले आप्रवासन, ट्यारिफ, आवास र संघीय खर्चसम्बन्धी कार्यकारी निर्णयहरूको तयारी महिनौँदेखि गरिरहेको छ। ती निर्णयमार्फत डेमोक्रेटिक पार्टीको विरोधका बाबजुद ट्रम्पले आफ्नो एजेन्डाका केही हिस्सा अघि बढाउन सक्नेछन्।
तर कार्यकारी अधिकार प्रयोग गरेर मात्रै कंग्रेसबाट हुने छानबिन रोक्न सकिने छैन। डेमोक्रेटिक पार्टीले अब ट्रम्प प्रशासनका निर्णय र कामकारबाहीमाथि संसदीय छानबिन अघि बढाउन सक्नेछ।
ह्वाइट हाउसका ती वरिष्ठ अधिकारीले पनि आगामी दिनमा प्रशासनका लागि सबैभन्दा ठूलो चुनौती छानबिन नै हुने बताएका छन्।
‘यी छानबिनको सामना गर्न कोही पनि चाहँदैन,’ उनले भने।