प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपकबहादुर खड्काविरूद्ध परेको उजुरीमाथि छलफल गर्न बुधबार बोलाइएको बैठकमा कोरम नपुगेपछि स्थगित भएको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए।
समितले बुधबार ११:३० बजे बोलाइएको थियो।
मुगु कर्णाली र किमाथांका जलविद्युत आयोजना ठेक्का प्रक्रियामा भएका अनियमितताबारे समितिमा परेको उजुरीमाथि छलफल गर्न बैठक बोलाइएको थियो। उर्जामन्त्री खड्काले यी आयोजनाको ठेक्कामा अनियमितता गरेको आरोप सहितको उजुरी समितिमा परेको थियो।
तर छलफलमा ११ जना सांसदहरूको मात्रै उपस्थिति थियो। २५ जना सदस्य रहेको समितिमा ५१ प्रतिशत उपस्थित हुनुपर्नेमा १२ जना मात्रै उपस्थित भएपछि कोरम नपुगेको हो।
एमालेका सात सांसदमध्ये पाँच, कांग्रेसका ८ मध्ये दुई सांसदको मात्रै उपस्थित थियो।
माओवादीबाट तीनमध्ये एक जना मात्रै उपस्थित थिए। संसदीय दलको बैठकका कारण रास्वपाका दुई सांसद नै उपस्थित भएनन्।
राप्रपाका दुई मध्ये दुवै जनाको उपस्थिति थियो। जसपाकी एक सांसदको उपस्थिति थियो। नागरिक उन्मुक्ति पार्टीका एक गरी १२ जनाको उपस्थिति थियो।
छलफलका लागि ऊर्जामन्त्री दिपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ पनि पुगेका थिए। कोरम नपुगेपछि उनीहरू पनि फर्किए।