दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सूले राजीनामा दिएका छन्।
हानले बिहीबार प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिबाट राजीनामा दिएका हुन्। उनले देश र जनताका लागि ठूलो जिम्मेवारी लिनका लागि तत्काल पदबाट राजीनामा दिएको बताएका छन्।
'देशका लागि ठूलो जिम्मेवारी वहन गर्ने उद्देश्यले मैले यो निर्णय लिएको छु,' उनले भनेका छन्।
उनले आगामी जुनमा हुने आम निर्वाचनमा उम्मेदवारी दिनका लागि अहिलेको पदबाट राजीनामा गरेको बताइएको छ।
मार्च २४ मा संवैधानिक अदालतले हानमाथि संसदले लगाएको महाभियोग बदर गरी उनलाई पुनः कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गराएको थियो।
यसअघि डिसेम्बरमा राष्ट्रपति युन सुक योलले सैनिक शासन लगाउने असफल प्रयास गरेपछि उनलाई संसदले महाभियोग लगाएको थियो।
त्यतिबेला हान प्रधानमन्त्री थिए। महाभियोग लगाइएपछि उनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। पछि युनमाथि महाभियोग प्रक्रिया अगाडि नबढाएको भनेर संसदले हानलाई पनि महाभियोग लगाएको थियो।
राष्ट्रपति युनमाथिको महाभियो अप्रिल ४ मा संवैधानिक इजलासले सदर गरेको थियो। त्यसपछि ६० दिनभित्र निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार कार्यवाहक राष्ट्रपति हानले मे ३ मा मतदान हुनेगरी चुनाव घोषणा गरेका थिए।
हानले राजीनामा दिएपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री चोई साङ मोकलाई कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।