नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा तीन विषयमा छलफल भएको छ।
बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले संसदको अवरोध, वाइसिएलको राष्ट्रिय सम्मेलन र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।
बैठकले संसदमा जारी अवरोधको निकास निकाल्न भूमिका खेल्ने निष्कर्ष निकालेको छ।
बैठकको निर्णय सुनाउँदै प्रवक्ता सापकोटाले माओवादी जिम्मेवार प्रतिपक्षीको हैसियतमा रहेकाले अहिलेको परिस्थितिलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने ढंगले बैठकमा छलफल भएको बताए।
त्यसका लागि सरकार र अन्य प्रतिपक्षी दलहरूसँग भइरहेको छलफललाई निरन्तरता दिने र एउटा निष्कर्षमा पुग्ने उनले बताए।
'हिजो पनि छलफल भएको थियो। आज पनि छलफल गर्छौं। सरकार पक्ष र अरू प्रतिपक्षी दलहरूसँग पनि छलफल गर्छौं। त्यसको निष्कर्षबाट एउटा टुंगोमा पुग्छौं,' उनले भने।
उनले व्यक्ति विशेषमा भन्दा पनि छानबिन समिति बनाउनुपर्नेमा माओवादी केन्द्रको जोड रहेको बताए।
'विषय गम्भीर भएकाले छानबिन अपरिहार्य छ, मुख्य त छानबिन हो। व्यक्तिविशेषमा ध्यान छैन,' सापकोटाले भने, 'छानबिनका लागि वातावारण बनाउनुपर्छ र सदनमा छलफलको वातावरण पनि हुनुपर्छ भन्ने विषयमा कुराकानी भएको छ।'
त्यसका लागि सरकार र विपक्षी दुवैसँग छलफल हुने उनले बताए।
बैठकमा चार दिनदेखि जारी वाइसिएलको सम्मेलनबारे छलफल भएको पनि प्रवक्ता सापकोटाले बताए। उनले सम्मेलनका विषयमा अध्यक्ष प्रचण्डले विस्तृत रिपोर्ट गरेको बताए।
बैठकमा वाइसिएलको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्ने निष्कर्ष निकालिएको छ।
'सहमतिका लागि अधिकतम पहलकदमी लिइराख्नुभएको छ। त्यसमै अधिकतम प्रयास गर्नुपर्छ। छलफल गरी रिपोर्ट तयार गरी पेस गर्न भन्नुभएको छ। सहमतिमै टुंगिन्छ,' उनले भने।
उनले वाइसिएलको नेतृत्वको विषयमा पनि मोटामोटी छलफल भएको बताएका छन्।
'नाममा ठ्याक्कै केन्द्रीत भएर छलफल चलेन। योग्य, क्षमतावान, ऊर्जावान लिडरसिप हुनुहुन्छ। त्यसलाई पार्टीले निष्पक्षतापूर्वक हामीले पार्टीको सहजीकरण गर्नुपर्छ भन्ने निष्कर्ष हो,' उनले भने।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रवक्ता सापकोटाले बताए।
उनले बुधबार सर्वोच्च अदालतलको आदेशबारे तत्काल टिप्पणी गर्नु अपरिपक्वता हुने बताए। त्यसबारेमा पूर्णपाठ आएपछि पार्टीले धारणा बनाउने उनले बताए।
'यसमा धेरै छलफल गर्नुपर्ने कुरा छैन। टिप्पणी धारणा व्यक्त गर्दा अध्ययन गर्नुपर्छ। लिखित पनि आएको छैन। आ-आफ्नै ढंगले प्रचार गरिएको छ। त्यसमा सत्यता पनि छैन। पूर्णपाठ आएपछि त्यसलाई राम्ररी अध्ययन गरिसकेपछि राम्ररी व्यक्त गर्न ठीक हुन्छ,' उनले भने।
संक्रमणकालीन न्याय सम्बन्धी ऐन बनिसकेको अवस्था र दुई आयोगहरु पनि गठन भइसकेको विषयबारे सर्वोच्च जानकार रहेकाले त्यसमा टिप्पणी गर्नु आवश्यक नरहेको सापकोटाको भनाइ थियो।