भिजिट भिसा प्रकरणले प्रतिनिधि सभाको बैठक निरन्तर अवरोध हुँदै आएको छ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएका छन्।
सोमबार पनि विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ।
दलहरूले सदनको गतिरोध अन्त्यका लागि पहल पनि गरिरहेका छन्। सभामुख देवराज घिमिरेले सहमतिका लागि नेताहरूले पहल गरिरहेकोले आधा घन्टाका लागि बैठक स्थगित गरेको बताएका थिए।
यसैबीच रास्वपाले नेपाली कांग्रेसलाई सहमतिका लागि केही बुँदाहरू प्रस्ताव गरेको छ।
जसमा;
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी नेपाल सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने।
२. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रत्यक्ष संवैधानिक क्षेत्राधिकारमाथि अतिक्रमण नगरी विगत केही वर्षहरूमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नता भएको आशंका हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने जसले तालिकासहित प्रधानमन्त्री मार्फत आएको सरकारी प्रतिबद्धताको अनुगमन गर्न सर्वपक्षीय सांसदहरु सम्मिलित Legislative Oversight Group को रूपमा पनि काम गर्ने।
३. छानबिन समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गर्ने। कार्यसम्पादन समितिले छानविन समितिको कार्यविधि ५ (पाँच) दिन भित्र तय गरी समिति गठन गर्ने।
४. छानबिन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै छानविन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र निम्न कार्यहरूमा समितिकेन्द्रित हुने उल्लेख छ।
साथै रास्वपाले निम्न प्रस्तावसमेत गरेको छ;
१. नीतिगत एवं प्रणालीगत कमजोरीहरूको पहिचान र विश्लेषण (भिजिट भिसा, श्रम स्वीकृति, अध्यागमन, आदि)।
२. मानव तस्करी र संगठित अपराधसँग सम्बन्धित व्यक्ति र संस्थाहरुको अवैध संजालमाथि अध्ययन र अनुसन्धान।
३. पीडितको संरक्षण र पीडितमैत्री पुनर्स्थापनाका लागि प्रशासनिक एवं न्याय प्रणालीबारे सुझाव।
४. अन्तर- निकाय समन्वय र सहकार्यबारे सुधार सिफारिस।
५. राजनीतिक-प्रशासनिक जवाफदेहिता र कर्तव्यवोध खोज्दै गृहमन्त्रीको राजीनामाबारे निर्णय।
५. छानबिन समिति गठन, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शीताको उच्च मापदण्ड अपनाइने।
रास्वपाले यस सहमति पत्रको उद्देश्य देशमा सुशासन, उत्तरदायित्व र न्यायिक प्रक्रिया सुदृढ गर्दै नागरिकको विश्वास पुनःस्थापना गर्नु हुँदा यस्ता संवेदनशील विषयहरूमा राज्यका सबै अंगहरू मिलेर काम गर्ने प्रतिबद्धता जनाइन्छ भन्ने पनि कांग्रेसलाई पठाएको प्रस्तावमा उल्लेख गरेको छ।
यसअघि आजै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्यामकुमार घिमिरे र सांसद ज्ञानेन्द्र कार्कीले रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार र सांसद शिशिर खनालबीच छलफल भएको थियो।
उक्त छलफलमा कांग्रेसले रास्वपालाई सहमतिका लागि मस्यौदा माग गरेपछि रास्वपाले उक्त मस्यौदा पठाएको हो।
यस्तो छ प्रस्ताव;
