कुनैबेला सभापति शेरबहादुर देउवाको ‘कोर टिम’ सदस्य मानिने नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पछिल्लो समय शेखर कोइरालासँग नजिकिएको चर्चा छ।
विराटनगर आइपुगेका नेता खाण बुधबार बिहानै विराटनगरस्थित कोइराला निवास पुगे।
शेखर निकट नेता–कार्यकर्ताहरुको बाक्लो जमघटबीच केहीबेर पत्रकारहरूसँग कुराकानी गरे।
पार्टी संस्थापनसँग टाढिएको चर्चाबीच कोइराला निवासमा भेटिनुभयो, यसलाई कुन अर्थमा बुझ्ने भन्ने सेतोपाटीको प्रश्नमा खाणले ‘कोइराला निवास कांग्रेस कार्यकर्ताका लागि मात्रै नभई प्रजातन्त्रमा आस्था राख्ने जोकोहीका लागि मन्दिरजत्तिकै पवित्रस्थल’ भएको प्रतिक्रिया दिए।
‘कोइराला निवासमा अहिले पो शेखर कोइराला बस्नुहुन्छ, पहिले बीपी बस्नुहुन्थ्यो, पिताजी कृष्णप्रसाद कोइराला बस्नुहुन्थ्यो, हाम्रो गतिशील नेता गिरिजाप्रसाद कोइराला बस्नुहुन्थ्यो,’ खाणले भने ‘यहाँको माटो स्पर्श गर्दा पनि सत्कर्मतिर लाग्ने प्रेरणा मिल्छ। त्यसैले यहाँ बारम्बार आउन पाइयोस्।’
सभापति देउवासँग टाढिएकोबारे प्रश्नमा खाणले सभापतिलाई सफल बनाउन आफू लागेको र लागिरहने बताए। ‘सभापति सफल हुँदा मात्रै कांग्रेस सफल हुने हो’ उनको भनाइ छ।
खाण सहमहामन्त्री महेन्द्र यादवलगायत नेताहरूसँगै कोइराला निवास पुगेका थिए।
पत्रकारहरूसँग खुलेर कुरा गर्न नचाहेका उनले संविधान, कांग्रेस र प्रजातन्त्रबारे आफ्नो धारणा राखिरहे। आउँदो महाधिवेशनमा शेखरलाई सघाउने सम्भावना बढेको हो भन्ने प्रश्नको उत्तर उनले दिएनन्।
साथै उनलाई रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनबारे पनि प्रश्न सोधिएको थियो। कात्तिक १७ गते उपचुनावमा कांग्रेसबाट उम्मेदवार हुने हो भन्ने प्रश्नमा उनले जबाफ दिएनन्। ‘म अहिले मोरङमा छु,’ उनले यत्ति भने।
२०७९ मंसिरको चुनावमा गृहमन्त्री रहेका बेला खाणलाई राप्रपाका उम्मेदवार दीपक बोहराले पराजित गरेका थिए।
यस्तै पार्टीको १५ औं महाधिवेशनबारे सोधिएको अर्को प्रश्नमा नेता खाणले पाँच वर्षभित्रमा महाधिवेशन हुने बताए। ‘एक वर्ष कार्यकाल थप्न सकिने प्रावधान छ,’ उनले भने, ‘पाँच वर्षभित्र महाधिवेशन हुन्छ।’
उनी नजिकिएको अनुमान भइरहेका नेता कोइराला भने महाधिवेशन समयमै गर्नुपर्ने भन्दै सभापतिलाई दबाब दिइरहेका छन्।
कांग्रेस अनुशासन समितिले एकपक्षीय रूपमा कारबाही गरेको भन्दै शेखर पक्ष असन्तुष्ट छ।
महामन्त्री गगन थापाले पनि ‘अनुशासन पर्व’ भनेर असन्तुष्टि जनाइसकेका छन्।
यसबारे नेता खाणले ‘कामै गरेन भनेको अनुशासन समितिले काम गरेको अब त्यसको परीक्षण केन्द्रीय समितिले गर्ने’ अभिव्यक्ति दिएका छन्।
केन्द्रीय समितिको पछिल्लो बैठकमा शेखर कोइरालाले अनुशासन समितिको कामकारबाहीप्रति रोष प्रकट गरेका थिए। अनुशासन समितिले काम गर्नै नसकेको अभिव्यक्ति दिएका थिए। लगत्तै उनी पक्षकै बहुसंख्यक नेताहरूलाई समितिले कारबाही गरेपछि कोइराला समूह असन्तुष्ट छ। कारबाही फिर्ता हुनुपर्ने माग गरिरहेको छ।
पहिले गिरिजाप्रसाद र पछिल्लो समय शेखरले बसेर कार्यकर्ता भेट्ने, पत्रकारहरुसँग कुराकानी गर्ने आसनमै बसेर खाणले भने, ‘अनुशासन समितिले काम गरेन भन्ने कुरा थियो। उजुरीमाथि छानबिन गरेर काम त गर्यो। अब ठीक बेठीक के भएको छ केन्द्रीय समितिमा छलफल हुन्छ।’
तरूण दलको नेतृत्व सम्हालिसकेका खाणले पार्टी संगठनमा पनि बलियो प्रभाव राख्दै आएका छन्। लामो समयदेखि उनले देउवालाई साथ दिँदै आएका छन्।
२०८० वैशाख २७ मा नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेपछि भने खाण देउवासँग बिच्किएका छन्। जतिबेला कांग्रेसका शक्तिशाली मानिने नेता खाणलाई प्रहरीले पक्राउ गर्यो, त्यसबेला माओवादी र कांग्रेस गठबन्धनकै सरकार थियो।
आफ्नै सरकार छँदा पनि पक्राउ परेको घटनामा खाणले देउवाप्रति चित्त दुखाएका थिए।
‘देउवाको ग्रिन सिग्नल भएकैले मलाई पक्राउ गरिएको हो’ भन्दै खाणले निकटवर्तीहरूलाई भन्ने गरेका थिए- मलाई पक्रन देउवाले संकेत दिएकै हुन्।
देउवासँगको निकटताकै कारण पक्राउ पर्नुअघिसम्म पनि नेता खाण कति आश्वस्त थिए भने उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई धम्कीपूर्ण सन्देश नै पठाएका थिए।
‘यदि मलाई पक्राउ गर्ने हो भने यो गठबन्धन टुट्छ’, उनले प्रचण्डलाई सन्देश पठाएका थिए। त्यसबे्ला खाणको आत्मविश्वासले काम गरेन। उनी पक्राउ परे। जेलमा रहेका बेला कांग्रेसका धेरै नेताहरू खाणलाई भेट्न पुगेका थिए।
त्यसक्रममा उनले देउवाप्रतिको असन्तोष सुनाउने गरेका थिए। जेलमा रहेका खाण सभापति देउवासँग असन्तुष्ट रहेको सूचना पाएपछि शेखर कोइरालाले त्यो मौकाको सदुपयोग गर्न खोजे। उनी खाणलाई भेट्न गोप्य रूपमा जेलमै पुगे।
त्यहीबेलादेखि खाण र शेखरबीच निकटता बढेको शेखर निकट नेताहरु बताउँछन्।
‘परेका बेलामा देउवाले साथ नदिएको बरू शेखर दाइले साथ दिएको भन्ने उहाँको बुझाइ छ’, शेखर निकट नेताले भने।
सात महिना लामो जेल जीवनपछि खाण धरौटी बुझाएर रिहा भएका थिए। कांग्रेस नेताहरूका अनुसार केही समयअघि मात्रै शेखरले संसदीय दलको नेताबाट सभापति देउवा हटाउने एउटा असफल प्रयास गरेका थिए। त्यसका लागि उनले बालकृष्ण खाणको साथ चाहेका थिए।
तर मुद्दा मामिला कायमै रहेको र आफू कमजोर अवस्थामा भएकाले अहिले नै साथ दिन नसक्ने जबाफ खाणले दिएको नेताहरू बताउँछन्।
यस्तो प्रयास विफल भएपछि गएको जनवरी पहिलो साता शेखर एक कार्यक्रममा सहभागी बन्न लण्डन जाँदैथिए। त्यसअघि उनले सभापति देउवासँग भेट गरेका थिए। त्यो भेटको सुरुमै देउवाले शेखरलाई सोधेका थिए ‘तपाइँ त अझै पनि मलाई दलको नेताबाट हटाउन खोज्दै हुनुहुँदो रहेछ?’ जबाफमा शेखरले, ‘म के त्यता लाग्नु, म लण्डन चाहिँ जान लाग्या छु। तपाइँ मज्जाले चलाउनुस्’ भनेर देउवालाई भनेको उनी निकटहरू बताउँछन्।
लण्डनबाट फर्केपछि शेखरले फेरि देश दौडाहा सुरू गरे। केही समयअघि उनी लुम्बिनी गएका थिए। उनको साथमा मीनेन्द्र रिजाल पनि साथैमा थिए। लुम्बिनीमा शेखर र मीनेन्द्रसँग खाणले ठट्टा गर्दै भनेका थिए, ‘यो उमेरमा म आफै डाक्टर बन्न त सम्भव छैन। तर अब म पनि दुई डाक्टरहरूको संगत गर्नुपर्यो।’
देउवाकै सहमतिमा आफू पक्राउ परेको गुनासो गरिरहने खाणले भने जस्तै उनी अब कांग्रेसभित्र देउवाको साथ छाडेर ‘डाक्टरहरूको संगत’ मै आउलान् कि बाध्यतावश उतै बस्लान् त्यो प्रष्ट हुन केही समय लाग्नेछ। तर शेखर कोइरालानिकट सहितका देउवाका विश्वासपात्रहरू आफ्नो टिममा आइसकेको भनेर आन्तरिक रुपमा खुसी मनाउन भने थालिसकेका छन्।