नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा भएको त्रुटीबारे नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि नै छानबिन गर्नुपर्ने हुन सक्ने बताएका छन्।
आइतबार भट्टराईले फेसबुकमा स्ट्याटस लेखेर कुलिङ अफ पिरियडबारे प्रचण्डले शनिबार दिएको अभिव्यक्तिको जबाफ दिँदै त्यसमा तलमाथि गरिएको विषयमा प्रण्डमाथि नै छानबिन गर्नुपर्ने हुनसक्ने बताएका हुन्।
उनले एमाले कुलिङ अफ पिरियड राख्नुपर्छ भन्ने अडानमा रहेको बरू प्रधानमन्त्री भएको समयमा प्रचण्ड नै कुलिङ अफ पिरियडको पक्षमा नरहेको दाबी गरेका छन्।
'२०८० फागुन ११ गते संसदमा विधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुन्थ्यो र तपाईं कै अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो। जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन। यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन,' भट्टराईले लेखेका छन्।
विपक्षी बेन्चमा पुगेपछि प्रचण्डमा एकाएक कुलिङ पिरियडको भूत जागेको विषयमा पनि भट्टराईले प्रश्न गरेका छन्।
'आज विपक्षी बेंचमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो? सांसदहरूको संशोधन प्रस्ताव पछि मात्र यो विषयको बहस सुरू भएको हो। यो तथ्यका बारेमा हेक्का रहोस्,' उनले लेखेका छन्।
भट्टराईले राज्य व्यवस्था तथा सुशासन समितिमा प्रचण्ड वरिष्ठतम सदस्यको हैसियतमा रहेकाले उनीमाथि पनि प्रश्न उठ्ने बताएका छन्।
'समितिले कुलिङ अफ पिरियड राख़्ने निर्णय गरेको थियो। तर समितिको प्रतिवेदन संसदमा पेस गर्दा यो व्यवस्थालाई तलमाथि किन गरियो? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होइन र? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की? आफ्नै बोली आफैलाई गलापासो नहोस!,' प्रचण्डलाई सम्बोधन गर्दै भट्टराईले फेसबुकमार्फत भनेका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले कुलिङ अफ पिरियडमा भएको हेरफेरमा एमालेको भूमिका रहेको प्रष्ट भएको बताएका थिए।
त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानबिन गर्नुपर्ने प्रचण्डले बताएका छन्।

पढ्नुस्ः कुलिङ पिरियडमा एमालेले म्याऊ गरिछाड्यो: प्रचण्ड