अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविराम गर्नका लागि वार्तामा बस्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दुई साताको समय दिएको बताएका छन्।
शुक्रबार अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको कुराकानीमा ट्रम्पले जेलेन्स्कीसँग वार्ताको टेबलमा बस्न बस्न पुटिनलाई दुई साताको अल्टिमेटम दिएको बताएका हुन्।
दुई सातासम्म वार्ताको टेबलमा नबसे आफूले ठोस निर्णय गर्ने ट्रम्पले चेतावनी दिए। ‘दुई हप्तापछि पनि भएन भने के गर्छु भनेर निर्णय गर्छु,’ उनले सिएनएनसँग भनेका छन्।
गत हप्तामात्रै ट्रम्पले अलास्कामा पुटिनसँग भेट गरेका थिए। त्यसपछि उनले ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग छलफल गरेका थिए।
उनले युद्धविरामभन्दा स्थायी शान्ति उत्तम हुने सुझाउँदै आएका छन्। त्यसका लागि पहिलो चरणमा पुटिन–जेलेन्स्की बीच द्विपक्षीय वार्ता र त्यसपछि आफू समेत सहभागी हुने त्रिपक्षीय वार्ताको योजना अघि सारेका थिए।
तर, रूसी विदेशमन्त्री सेर्गेई लावरोभले पुटिन र जेलेन्स्कीबीच भेट्ने कुनै योजना नरहेको बताएका छन्। यसले वार्ताको गति फेरि रोकिने संकेत दिएको छ।
अलास्कामा ट्रम्पले पुटिनसँग पुनः चाँडै भेट हुन सक्ने बताएका थिए। त्यतिबेला पुटिनले अर्को भेट मस्कोमा हुने बताएका थिए।
शुक्रबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'दुई हप्तापछि कुन दिशामा जाने भनेर म निर्णय गर्छु। दुईमध्ये एउटाको पक्षमा जान्छु। त्यसपछि उनीहरूले बुझ्नेछन्।’
उनले पुटिनसँग अलास्कामा खिचिएको फोटो पनि पत्रकारलाई देखाएका थिए।
सँगै अलास्काम पुटिनले आफूलाई सम्मानजनक व्यवहार गरेको दाबी पनि गरे।
ट्रम्पले पुटिन आगामी विश्वकपका लागि अमेरिकामा आउने वा नआउने विषय पनि यिनै दुई हप्ताभित्रको घटनाक्रममा निर्भर हुने बताए।