प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरिसिद्धीमा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको विषयलाई राजनीतिकरण गर्न खोजिएको बताएका छन्।
गोदावरीको सनराइज हलमा एमाले विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले बालिकालाई गाडीले सामान्य ठक्कर मात्रै दिएको बताएका हुन्।
त्यही कारण विधान अधिवेशनको दोस्रो दिनको कार्यक्रममा एक घन्टा ढिलाइ भएको पनि ओलीले बताए।
‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो। अस्पताल लगिसकियो। त्यस्तो कुनै नियत थिएन। पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ। घट्नाप्रति दुःख व्यक्त गर्दछु। कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन्। तर भइदियो। त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन बिलम्ब हुन गयो’, अध्यक्ष ओलीले भने।
उनले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे।
‘भवितव्य घट्ना भएको। त्यस्तो क्षति पनि भएको छैन। यसमा हामी पनि दुःखी भएका छौं र बच्चीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, अध्यक्ष ओलीले भने।
बिहान ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा कोशी प्रदेशका आर्थिक आर्थिक मामिला तथा योजना मन्त्री हरिबहादुर मगर सवार गाडीले ११ वर्षीय बालिकालाई ठक्कर दिएको थियो। बालिकाको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।
बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी हुँइकिएको थियो मन्त्री सवार गाडी
-अक्षर काका
ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकेको भेटिएको छ।
शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको थियो।
मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएको सिसिटिभी फुटेज सेतोपाटीले प्राप्त गरेको छ।
उक्त भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङको केही अगाडिबाट बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको थियो।
ठक्करबाट बालिका गाडीको नजिकैबाट पछारिएकी थिइन्।
बालिका सडकमै लडेपनि सो गाडी भने रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिन्छ।
गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ।
ठक्कर दिने गाडीमा मन्त्री मगर सवार रहेको पुष्टि ललितपुर प्रहरीले गरिसकेको छ।
ललितपुरका एसपी चक्रराज जोशीका अनुसार घाइते बालिका ११ वर्षीया बालिका उषा मगर सुनुवार छिन्। उनलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको छ।
मन्त्री मगरले पनि सेतोपाटीसँगको कुराकानीमा घाइते बालिकाको अवस्था बुझ्न आफू अस्पताल आएको बताएका छन्।
मन्त्री सवार गाडीलाई भने प्रहरीले गोदावरीबाट नियन्त्रणमा लिएको एसपी जोशीले जानकारी दिए।
एमालेबाट मन्त्री भएका जोशी ललितपुरमा शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनमा सहभागी हुन शनिबार बिहान गोदावरी जाँदै थिए।