सर्वोच्च अदालतको गेट अगाडि आइतबार बिहानैदेखि भिड छ।
सर्वोच्चका कर्मचारीहरू सँगसँगै सुरक्षाकर्मी, तारिख लिन आएका मानिसहरू उपस्थित छन्।
करिब ११ बजेतिर कर्मचारीहरू आएर के कसरी व्यवस्थापन गर्ने भनेर परिसरमै छलफल गरी टेन्टमुनि डेस्कको स्थापना गरेका थिए। कर्मचारीहरूले रेजिस्टर ल्याए र अलमलमा परिरहेका सेवाग्राहीलाई लाइनमा राखे।
भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा सर्वोच्च अदालतमा आगजनी गरिएको थियो। सर्वोच्चको भवन ध्वस्त हुँदा अहिले धमाधम टेन्टमुनिबाटै तारिख दिइएको छ। रिट, मुद्दा र बन्दी प्रत्यक्षीकरणको लागि छुट्टाछुट्टै डेस्क स्थापना गरिएको छ।
आइतबार रौतहटदेखि शेख तजुमुल्लाह तारिख लिनकै लागि काठमाडौं आइपुगेका छन्। परिसरमा भेटिएका उनी दुई वर्षदेखि अंश मुद्दाका लागि सर्वोच्च धाउँदैछन्।
‘पेसी भएकाले हिजो मात्रै काठमाडौं आइपुगेँ। आफ्नो मुद्दाको के हुने हो थाहा नभएर तारिख भएपनि लिन भनेर आएको हुँ। दुई वर्ष भइसक्यो, अब सर्वोच्च ध्वस्त भएपछि मेरो मुद्दा अझै लम्बिने होला,’ उनले भने।
उनीहरूलाई एक महिनाभित्र सम्म आउनसक्ने र तारिख पुससम्मको तारिख दिइएको छ। उनीजस्ता थुप्रै सेवाग्राहीहरू देशभरिबाट काठमाडौं आइरहेका छन्। तर अहिले सुनुवाइ भने सुरू हुन सकेको छैन।
सर्वोच्चले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको रिट दर्ता र त्यसको सुनुवाइ गर्ने सार्वजनिक सूचना जारी गरेको थियो। तर आइतबार कुनै सुनुवाइ भएन, बन्दीका नयाँ रिट पनि दर्ता भइसकेका छैनन्।
‘अहिले हामी डेस्क स्थापना गरी रिटहरू दायर गर्छौं। अहिलेलाई हामी व्यवस्थापनमा पनि केन्द्रित छौं,’ सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद पोखरेलले भने।
सर्वोच्चको भवन आगलागीबाट ध्वस्त भएसँगै अन्दाजी ६० हजार भन्दा बढीका मिसिल तथा फाइलहरू जलेका छन्। भदौ २५ गते कर्मचारीहरूले भवन भित्रबाट आगजनी नभएका फाइललाई निकालेर जोगाएको छ। तर कति मुद्दाका फाइल जले र कति मुद्दाका फाइल जोगिए भन्ने यकिन हुन सकेको छैन।
जोगाइएका ती फाइलहरूलाई अहिले सर्वोच्चकै परिसरभित्र रहेको एनेक्स भवनमा राखिएको छ।
सूचना अधिकारी निराजन पाण्डेले सर्वोच्च अदालतमा भवनबाट कम्प्युटर, कागजात लगायत सामानहरू चोरी भएका छन्। ‘सामानहरू धेरैजसो त चोरी भएका छन्। आगजनीबाट क्षति भन्दा पनि उपकरण तथा कागजातहरू चोरिएका छन्। अब हामी कसरी मिलाउने भन्नेतर्फ केन्द्रित छौं,’ उनले भने।
कर्मचारीहरूले सर्वोच्चमा रहेका फाइलहरू जलेर नष्ट भएकाले कर्मचारीहरूले तारेख धाउन आउनेहरूलाई पनि आफूहरूसँग भएका फाइलहरूलाई सर्वोच्चमा लिएर आउन अनुरोध गरिरहेका छन्।
‘तपाईंहरूसँग भएका फाइलहरू जे जति छन्। ती फाइलहरू लिएर आउनुस्,’ ती कर्मचारीले तारिख लिन आएकाहरूलाई भनेका छन्।
भदौ २२ गतेसम्म सर्वोच्चमा २४ हजार २३४ वटा मुद्दाहरू बाँकी रहेको सूचना अधिकारी पाण्डेले बताए। त्यसमध्ये दुई वर्ष नाघेका मात्रै ७८ हजार ७६२ वटा मुद्दा छन्। ५ वर्ष नाघेका १२०२ वटा मुद्दा छन्।
थुनुवासँग सम्बन्धित एक हजार ९०९ वटा र फुटकर निवेदन ५०९ वटा छन्।
सर्वोच्चको भवन ध्वस्त भएसँगै यी मुद्दाका सुनुवाइ समेत प्रभावित भएको छ।
‘कतिपय मुद्दाका फाइलहरू सर्वोच्चकै इमेलमा पनि हुन्छन्। त्यहाँबाट पनि लिन सकिन्छ,’ पाण्डेले भने, ‘अरू वकिलहरूबाट पनि लिन सकिन्छ। नजलेका फाइलहरू पनि छन्।’
यसो त शुक्रबार सर्वोच्च अदालतले बारका प्रतिनिधिहरूसँग जुम मिटिङमार्फत छलफल अघि बढाएको थियो। त्यसमा मिसिलहरू कसरी पुन: प्राप्ति गर्ने भन्ने विषयमा छलफल गरिएको थियो।
त्यसैगरी अब सर्वोच्च अदालतमा सुनुवाइ कसरी गर्ने भन्ने विषयमा पनि अन्यौल छ। सर्वोच्चसँग अहिले विकल्पको रूपमा एनेक्स भवन छ। तर त्यहाँ सबै इजलास बस्नसक्ने अवस्था छैन।
त्यस्तो अवस्थामा सर्वोच्च अदालत परिसरसँगै जोडिएको नयाँ भवन निर्माणाधीन छ। उक्त भवनको निर्माण सम्पन्न भइसकेको छैन। तर त्यहाँका १० देखि १२ वटा कोठा लिएर चलाउन सकिने सूचना अधिकारी पाण्डेले बताए।
‘नयाँ भवनको निर्माण सम्पन्न भइसकेको छैन। तर पनि त्यहाँका १२ वटा जति कोठा प्रयोग गर्न मिल्ने कुरा छ। अब मिलाउँछौं,’ उनले भने, ‘त्यहाँ र एनेक्स भवनमा व्यवस्थापन गरेर सुनुवाइ सुरू गर्छौं।’
तस्बिरहरू:










