भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नेपाली सेनाले सुरक्षा दिई राखेका तत्कालीन मन्त्रीहरू बाहिर निस्कन थालेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित नेताहरूलाई सेनाले सुरक्षामा राखेको थियो भने मन्त्रीहरूलाई पनि सुरक्षा दिएर राखेको थियो।
शनिबार बिहान सैनिक सुरक्षाबाट आफू गृहजिल्ला आएको एक निवर्तमान मन्त्रीले सेतोपाटीलाई बताए।
आफूलाई सेनाले कुन ठाउँमा राखेको भनेर उनले भनेनन्।
‘म अहिले गृह जिल्ला छु। केही दिन सैनिक सुरक्षामा रहेँ,’ उनले भने, ’बाहिर चर्चा चलेजस्तो हामी नियन्त्रणमा थिएनौं। फोन चलाउन कुरा गर्न पाइएको थियो।’
पूर्वप्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएर कार्यभार सम्हालिसकेकी छन्। काठमाडौंमा कर्फ्यू तथा निषेधाज्ञा पनि हटिसकेको छ।
जेनजी प्रदर्शनमा ७२ जनाको मृत्यु भएको थियो।