राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तोसिमा कार्कीले पार्टी छाडेको हल्ला अफवाह भएको बताएकी छन्। उनले देशलाई शून्यबाट उठाउनुपर्ने भन्दै यस्तो अवस्थामा अफवाहमा रमाउन नहुने धारणा राखेकी छन्।
‘तोसिमाले पार्टी छाड्यो भनेर समाचार बनाउन भ्याइसक्नुभएछ! अरे यार! मेरो बारेमा लेख्दा मलाई त सोध्ने गर्नुस्। तोसिमाले के गर्छ या गर्दैन भन्ने चिन्ता लिनुको साटो देश आज यस्तो विक्षिप्त अवस्थामा पुगेको छ। मैले यो देशलाई के गर्न सक्छु भनेर सोच्नुहोला,’ उनले भनिन्, ‘यो देशलाई, हेर्नुन, हामीले सोच्दै नसोचेको अवस्थामा पुगेको छ, भौतिकरूपले, मानसिकरूपले, भावनात्मक रूपले विक्षिप्त भएको छ, देश शून्यबाट उठाउनुपर्ने छ। यस्तो बेलामा सञ्चार माध्यमले अफवाह फैलाएर मानिसहरूलाई अल्मल्याउने काम नगर्नुहोला।’
आइतबार नै रास्वपा नेता सुमना श्रेष्ठले पार्टी छाडेकी छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको भन्दै पार्टीमा बस्नुको औचित्य नरहेको बताएकी थिइन्।
‘कहिलै गल्ती नस्विकार्ने! गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने! पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होल । आइ क्विट, मैले पार्टी छोडेँ,’ उनले भनेकी थिइन्।
उनले नेपाली कांग्रेस नेकपा (एमाले) लगायत दलका तेस्रो पुस्ताका नेताहरूलाई पनि सोच्न आग्रह गरेकी छन्।
‘आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्यहोराले हो। त्यो किन बोकेर बस्नु हुन्छ? अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्,’ उनले आग्रह गरेकी छन्।