राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी सुमना श्रेष्ठले पार्टी छाडे पनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन्।
पार्टी छाडेको घोषणा गर्दै उनले भनिन्, 'मैले परिवर्तनको एजेन्डा कहिल्यै छाडेको छैन। यही एजेन्डा बोकेर युवा पुस्ताले जुन आन्दोलन गर्नुभएको छ, त्यसमा साथ दिनुपर्छ। उहाँहरूलाई बदनामी गर्ने जुन काम भइरहेको छ, त्यस्तो हुनुभएन।'
पार्टीभित्र रहेर गर्न नसकेको काम आफूले युवा पुस्तामाझ रहेर गर्न चाहेको उनले बताइन्।
'मैले मन्त्री पद खान पार्टी छाडेको होइन, भाइबहिनीहरूलाई साथ दिन, उहाँहरूसँगै बसेर परिवर्तनका लागि काम गर्न पार्टी छाडेको हुँ,' उनले भनिन्।
उनले अन्य दलमा रहेका युवा नेताहरूलाई पनि यसमा काम गर्न आग्रह गरेकी छन्।
'सबै दलका तेस्रो, चौथो तहमा रहेका युवा नेतालाई म भन्न चाहन्छु — कति डराउने, किन डराउने? हामी सबैले चाहेको परिवर्तन हो। कि हट्नुस्, कि हटाउनुस्, तर यो जेन-जी पुस्ताले ल्याएको परिवर्तनलाई जोगाएर एउटा ठाउँमा पुर्याउने काम गर्नुस्।'