टर्कीको राजधानी अंकरामा आइतबार दसौं हजार मानिसहरु सडकमा निस्किए।
उनीहरुको हात हातमा टर्कीको राष्ट्रिय झन्डा, विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सिएचपी)को झन्डा थियो।
उनीहरूले राष्ट्रपति रेसेप तय्यिप एर्दोगानको राजीनामा मागेका थिए।
टर्कीको मुख्य विपक्षी दल सिएचपीको सन् २०२३ मा भएको महाधिवेशनमा प्रक्रियागत अनियमितता भएको सम्बन्धी मुद्दामा सोमबार अदालतले फैसला गर्दैछ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सिएचपीको महाधिवेशन वैध वा अवैध भनेर अदालतले टुंगो लगाउने अघिल्लो दिन दसौं हजार मानिसहरु राजधानीका सडकमा निस्किएर प्रदर्शन गरेका हुन्।
सिएचपीको महाधिवेशन अमान्य घोषित भएमा दलको नेतृत्व नै संकटमा पर्न सक्नेछ।
महाधिवेशन अवैध भएको निर्णय भए विपक्षी दलको संरचना मात्रै होइन, वित्तीय बजार र २०२८ को आम निर्वाचनको समयतालिकासमेत प्रभावित पार्न सक्छ भनेर रोयटर्सले लेखेको छ।
सिएचपीका नेता ओजगुर ओजेल त्यो मुद्दा राजनीतिक भएको तर सरकारले पार्टी नेतृत्वलाई कमजोर बनाउने प्रयास गरेको बताए।
'हामी प्रतिरोध गर्छौं,' उनले भने।
ओजेलले तत्काल आम निर्वाचनको माग पनि गरे।
सरकारले भने अदालत स्वतन्त्र रहेको र कुनै राजनीतिक हस्तक्षेप नभएको जिकिर गरेको छ।
तर विपक्षीहरूले भने पछिल्ला कारबाहीलाई 'न्यायिक कू' को रूपमा चित्रण गर्दै आएका छन्।
बेलायती पत्रिका द गार्डियनका अनुसार, पछिल्लो एक वर्षमा सिएचपीका १७ जना मेयरसहित ५०० भन्दा बढी नेता कार्यकर्ताहरूलाई सरकारले पक्राउ गरी मुद्दा चलाएको छ।
राष्ट्रपति एर्दोगानका प्रतिद्वन्द्वी रहेका एक्रेम इमामोग्लुको गिरफ्तारीपछि सबैभन्दा ठूलो विवाद उत्पन्न भएको थियो।
उनलाई गत मार्चमा पक्राउ गरिएपछि टर्कीमा पछिल्लो दशककै ठूलो प्रदर्शन भएको थियो।
त्यसबेला लाखौं मानिस सडकमा उत्रिँदा देशको मुद्रासमेत कमजोर भएको थियो।
सरकारको उद्धेश्य चुनावअघि विपक्षीहरुलाई सिध्याउने सरकारको योजना रहेको भनेर अन्तर्राष्ट्रिय समाचर संस्था एशोसियटेड प्रेसले लेखेको छ।
'इमामोग्लुको गिरफ्तारीले चुनावअघि नै विपक्षी नेताहरूलाई किनारामा पुर्याउने सरकारको वास्तविक उद्देश्य हो भन्ने प्रष्ट भइसकेको छ,' एक नेतालाई उद्धृत गरेर एपीले लेखेको छ।
इमामोग्लुले जेलबाटै पठाएको पत्र पनि आइतबारको प्रदर्शनमा वाचन गरेर सुनाइएको थियो।
'यो देशमा अब ‘म’ को युग समाप्त हुन्छ। ‘हामी’ को युग सुरु हुन्छ। एक व्यक्तिले हार्छ, बाँकी सबैले जित्छन्,' उनको पत्रमा उल्लेख थियो।
पत्र वाचन गरेपछि प्रदर्शनकारीहरले 'राष्ट्रपति इमामोग्लु' भन्दै नारा लगाएको थियो।
टर्कीमा विपक्षी दलको महाधिवेशनको बैधताबारे अदालतको निर्णय गर्नुअघि नै राजनीतिक तनाव चुलिएको छ।
विपक्षीहरूको आक्रोश, सडक प्रदर्शन र अन्तर्राष्ट्रिय चासोले यो मुद्दा केवल कानुनी मात्र नभई राजनीतिक भविष्यसँग प्रत्यक्ष जोडिएको देखाएको भनेर रोयटर्सले लेखेको छ।
टर्कीमा एर्दोगानले लगातार दुई दशकदेखि शासन चलाइरहेका छन्।
सन् २००३ देखि २०१३ सम्म उनी टर्कीका प्रधानमन्त्री थिए। पछि उनी राष्ट्रपति बनेका हुन्।
तानाशाही शैलीमा शासन गरेको भन्दै उनको व्यापक आलोचना भइरहेको छ। टर्की उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को सदस्य राष्ट्र हो। तर एर्दोगानले भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सुमधुर सम्बन्ध बनाएका छन्।