प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गरिरहँदा सचिवालयमा दर्जनौं व्यक्तिहरूले सम्पर्क गरेका छन्।
सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई मन्त्रीको शपथ ग्रहण गराएका छन्।
अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह, कानुन, न्याय तथा संसदीय मामिलन मन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भएका छन्।
कार्की नेतृत्वको सरकारले ११ सदस्यीय मन्त्रिण्डलको गठन गर्ने तयारी गरिरहँदा सचिवालयमा दर्जनौं व्यक्तिहरूले फोन तथा मेसेज गरिरहेका छन्।
‘मलाई मन्त्री बनाउनपर्यो,’ भनेर फोन तथा मेसेजहरू सचिवालयमा आइरहेको बालुवाटार स्रोतले बताएको छ। त्यस्ता फोन र मेसेजहरू दर्जनौं व्यक्तिहरूले गरेका छन्।
यसो त प्रधानमन्त्री कार्कीकै श्रीमान दुर्गा सुवेदीलाई समेत फोन तथा मेसेज गरिरहेका छन्। त्यसरी आएका फोन र मेसेजलाई प्रधानमन्त्री कार्की र सचिवालयले खासै ध्यान दिएको भने छैन।
प्रधानमन्त्रीसहित चार जनाको मन्त्रिमण्डल बनिसकेको छ। अब सात जना मन्त्री थप्ने तयारी भइरहेको छ।
मन्त्री छान्नलाई सचिवालयमा छलफल चलिरहेको छ। यसबीच बालुवटारको सम्पर्कमा आउनेलाई मन्त्री नबनाउने सचिवालयको निष्कर्ष छ।
सचिवालयले मन्त्रालयगत विशेषज्ञताका आधारमा मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेको छ। उपयुक्त पात्रका लागि सचिवालय आफैले खोजी गरिरहेको हो।
यसअघि आइतबार बिहान धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफूलाई गृहमन्त्री बनाउन माग गर्दै बालुवाटार पुगेका थिए। पूर्वआइजिपी सर्वेन्द्र खनालले पनि बालुवाटारमा सम्पर्क गरेका थिए।