जेनजी प्रदर्शनमा घुसपैठ गरेर निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई जनालाई कारबाही गरेको छ।
रास्वपा गण्डकी प्रदेशको अनुशासन आयोगले पार्टीको मादी गाउँपालिका संयाजक भोजराज पौडेल र पोखरा महानगर वडा नम्बर १० का सभापति चन्द्रबहादुर थापालाई कारबाही गरेको हो। उनीहरूलाई अर्को निर्णय नहुँदासम्म पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरिएको प्रदेश अनुशासन आयोगका प्रमुख योगेन्द्र केसीले जानकारी दिए।
पोखरामा भएको तोडफोड र आगजनीका घटनामा भाइरल भएका भिडिओमा रास्वपाका मादी संयोजक पौडेलले सिँचाई कार्यालय कास्की, प्रतिनिधि सभा सांसद मनबहादुर गुरूङको घर, प्रदश सांसद बेदबहादुर गुरूङको घर लगायत तोडफोड र आगजनीमा संलग्न भएको देखिएको थियो।
यस्तै, वडा सभापति थापा पोखरा महानगरको कार्यालय र मेयर धनराज आचार्यको घर तोडफोड र आगजनीमा संलग्न देखिएको भन्दै पार्टीले कारबाही गरेको हो।
जेनजी समूहको प्रदर्शनमा घुसपैठ गरेर तोडफोड, आगजनी लगायतका घटनामा संलग्न हुने पार्टीका अरू नेता तथा कार्यकर्तालाई पनि कारबाही गर्ने रास्वपाले चेतावनी दिएको छ।