नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेन–जीले विद्रोह गरेको तर सरकार जेन–एक्सको बनेको टिप्पणी गरेका छन्। पार्टीका तर्फबाट सोमबार विज्ञप्ति जारी गर्दै उनले सरकारको बनोटप्रति विरोध दर्ज गरेको टिप्पणी गरेका हुन्।
‘सम्पूर्ण नागरिकहरुको प्रतिक्षालाई चिर्दै पूर्वन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ। सरकारको निर्माण जेन–जी र जनताको अपेक्षाविपरीत बन्न पुगेको छ। विद्रोह जेन–जीको सरकार जेन–एक्सको भएको छ। हाम्रो पार्टी यो सरकारको बनोटप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको छ,’ उनले भनेका छन्।
आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्ने पार्टीको मत रहेको उनको भनाइ छ।
विभिन्न क्षेत्रबाट यो सुझाब पुगेको पनि उनले बताएका छन्।
‘यसलाई जाना जान प्रवेश गराइएन या बेवास्ता गरियो। कसको दबाब या इसारामा यो गरियो विषय रहस्यपूर्ण छ। परन्तु यसमा गैर–दलीय, गैर–वामपन्थी सोचले काम गरेको देख्न सकिन्छ। यसलाई सम्पूर्ण राजनीतिक क्षेत्रबाट अस्वीकार गरिएको छ। जनताले पनि स्वीकार्ने छैनन्,’ उनले भने।
वर्षौंदेखि भ्रष्टाचार, राष्ट्रघात, तस्करी, दलालीका विरुद्ध लडेका राजनीतिक शक्तिहरूलाई उपेक्षा गर्नु भनेको समस्यालाई निकास दिनु नभएको र संक्रमणकाललाई अझै लम्ब्याउनु र गिजोल्नु मात्र भएको उनको ठहर छ।
‘हामीलाई चाहिएको सरकार र मन्त्रीमण्डल मात्र होइन अपितु राज्यको पुनःसंरचना र संविधानको पुनःलेखन पनि हो। पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव छैन। तसर्थ आदरणीय जनसमुदायमा हाम्रो विशेष अपिल छ कि राज्यलाई अग्रगामी रुपान्तरण गर्नका लागि समयमा नै सचेत बनौं। देशका सामु खडा भएका राष्ट्रिय स्वाधीनताको विशेष चुनौतीलाई गम्भीरतापूर्वक आत्मसाथ गरौं। हाम्रो पार्टी देशको स्वाधीनता, आत्मनिर्भरता, जनअधिकार, नेपाली विशेषताको समाजवादको पक्षमा इमान्दरीपूर्वक डटिरहने प्रतिवद्धता व्यक्त गर्दछ,’ उनले भनेका छन्।