नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले पार्टीमा व्यापक सुधार र आमूल रूपान्तरण जरूरी रहेको बताएका छन्।
जेनजी आन्दोलनपछि बदलिँदो यो परिस्थितिमा हातमा हात, काँधमा काँध मिलाएर कांग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरण गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ।
उनले मंगलबार एक अपिल जारी गर्दै हिजोका गल्ती र कमजोरी समीक्षा गरी अब गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित पार्टी अघि बढ्नुपर्ने उल्लेख गरेका छन्।
यस्तो छ उनको अपिल;
जनताको भावना र युवाको आक्रोशलाई आत्मसाथ गर्दै यो विषम परिस्थितिमा हिजोको गल्ती र कमजोरीलाई समीक्षा गरी फेरि कहिल्यै गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दै फेरि पनि सम्हहालिएर अगाडि बढ्नुको विकल्प छैन।
राजनीतिमा आउने हरेक आरोह, अवरोह, चुनौती र बाधालाई पन्छाएर लोकतन्त्र, स्वतन्त्रता, मानव अधिकार र नागरिकको नैसर्गिक अधिकार रक्षाको लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिकता र साझा भावनाका साथ नेपाली कांग्रेसलाई यो सङ्कट र अप्ठ्यारो घडिबाट पार्टीलाई जोगाउन, बचाउन हामी एकजुट भएर हिँड्नुपर्ने बेला आएको छ।
अहिले एकअर्कालाई हिलो छ्याप्ने बेला होइन। आपसमा लड्ने, भिड्ने, टुट्ने र फुट्ने समय पनि होइन, आपसी मतभेद र झगडालाई बिर्सेर एकजुट हुने समय हो। जतिसुकै कष्ट र संकटपूर्ण बाटो भए पनि धैर्यता र संयमत पूर्वक निराश नबनेर, नबहकिएर, सन्तुलित हुदै गम्भीरतापूर्वक, बुद्धिमत्तापूर्ण र जिम्मेवारीपूर्ण ढंगले अगाडि बढनु आजको दिनमा हामी सबैको साझा कर्तव्य र दायित्व हो।
हातमा हात, काँधमा काँध मिलाएर नेपाली कांग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरण गरेर अगाडि बढ्नुको आजको दिनमा अर्को कुनै विकल्प छैन। आजको आवश्यकता बृहत्तर एकता, सुध्रिने र सच्चिने स्पष्ट प्रतिबद्धता हो।