जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्रीसमेत रहेकी आरजु राणा देउवामाथि निवासमै आक्रमण भयो।
केही प्रदर्शनकारीहरू र सुरक्षाकर्मीले जोगाउँदै देउवा दम्पतीलाई नेपाली सेनाको जिम्मा लगाएपछि शिवपुरी लगिएको थियो।
भदौ २४ मा काठमाडौंको बूढानीलकण्ठस्थित देउवा निवासभित्रै प्रवेश गरेर कुटपिट गरेका प्रदर्शनकारीले घरमा आगो लगाएका थिए। जसै देउवा निवास जल्यो, सामाजिक सन्जालहरूमा त्यहाँ ठूलो परिमाणमा नगद फेला परेको हल्ला चल्यो।
अहिले पनि हल्ला चलिरहेकै छ। त्यसो त हुलदंगामा झापाको कनकाइका मेयर राजेन्द्र पोखरेलको निवासबाट ८० केजी सुन फेला परेको गलत हल्ला पनि चल्यो।
देउवा निवासमा पनि बिटाका बिटा स्वदेशी तथा विदेशी पैसा भेटिएको चर्चा चल्यो।
पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति देउवा र आरजुको निवासमा हल्ला भएझैं बिटाका बिटा पैसा फेला परेको साँचो हो कि झुटो हो अहिलेसम्म खुलेको छैन।
घाइते अवस्थामा रहेकाले देउवा दम्पतीले यसबारे बोलेका छैनन्। राज्यका निकायहरूले पनि यसबारे केही बताएका छैनन्।
यस्तो हल्ला चलिरहेका बेला कांग्रेस केन्द्रीय कार्यालयले सोमबार साँझ आयोजना गरेको पार्टी बैठकमा भने यो विषय जोडतोडले उठेको छ।
सोमबार साँझ ७ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट मुलुकभरका पार्टी जिल्ला सभापतिहरूसँग भर्चुअल बैठक भएको थियो।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकमा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा पनि सहभागी थिए भने देशभरका ६५ जिल्लाका सभापतिहरूले भर्चुअल बैठक भाग लिएका थिए।
राति अबेरसम्म चलेको बैठकमा जिल्ला सभापतिहरूले केन्द्रीय सभापतिको बूढानीलकण्ठस्थित घरमा भेटिएको भनिएको पैसाको वास्तविकताबारे केन्द्रीय नेतृत्वसँग जिज्ञासा राखेका थिए।
‘देउवा निवासमा बिटाका बिटा पैसा भेटिएको भनेर सामाजिक सन्जाल तातिएको छ। यो सत्य हो कि झुटो भनेर जिल्ला सभापतिहरूले बैठकमा कुरा उठाउनुभएको छ,’ कांग्रेसका एक जना जिल्ला सभापतिले भने।
देउवा निवासमा आगो लागेको अवस्थामा भेटिएको भन्दै दाबी गरिएको पैसा।
बैठकमा यसबारे सबैभन्दा पहिला पाल्पाका जिल्ला सभापति हिमाल श्रेष्ठले कुरा निकालेका थिए।
‘सभापतिज्यू र उहाँको पत्नीमाथि आक्रमण भएको छ, घर जलाइएको छ। त्यही क्रममा धेरै नगद भेटिएको भनेर ठूलो हल्ला चलेको छ,’ उनले भनेका थिए, ‘यसको वास्तविकता के हो? पार्टीले अहिलेसम्म त्यसबारे हो पनि भनेको छैन, होइन पनि भनेको छैन। कुरा के हो, स्पष्ट हुनुपर्दछ।’
इलाम सभापति डम्बर खड्काले पनि यसबारे जिज्ञासा राखेका थिए।
‘अहिले जता पनि देउवा निवासमा पैसा भेटिएको भनेर हल्ला चलाइएको छ। यसको वास्तविकता के हो, पार्टी यसबारे किन बोल्दैन?,’ उनले भनेका थिए।
उनीहरूसहित आधा दर्जनभन्दा बढी जिल्ला सभापतिहरूले उस्तै जिज्ञासा राखेपछि महामन्त्री विश्वप्रकाश शर्माले त्यसबारे केही कुरा राखेका थिए।
‘हल्ला चलेको छ, मूलधारका मिडियामा भन्दा पनि बढी सामाजिक सन्जालमा यसबारे धेरै चर्चा देखिएको छ,’ शर्माले बैठकमा दिएको जबाफ उधृत गर्दै एक जिल्ला सभापतिले भने, ‘अहिले सभापति घाइते अवस्थामा हुनुहुन्छ। उहाँहरूले यसबारे प्रष्ट पार्नुहोला।’
महामन्त्री शर्माले यदि स्रोत नखुलेको सम्पत्ति जो कोहीसँग भए पनि त्यसबारे राज्यले अनुसन्धान गर्नुपर्ने पनि बताएको ती सभापतिले जानकारी दिए।
‘व्यक्ति पार्टीमा हुनसक्छ तर उसले केही गलत गरेको भए त्यसको दोष पार्टीले बोक्न सक्दैन,व्यक्ति स्वयम् जिम्मेवार हुनुपर्छ भनेर महामन्त्रीले प्रष्टीकरण दिनुभयो,’ ती सभापतिले भने।
बैठकमा बोल्ने बहुसंख्यक जिल्ला सभापतिहरूले पार्टीले नयाँ पुस्ताको भावना समेटेर र बुझेर पार्टी रूपान्तरण गर्नुपर्ने बताएका थिए।
ललितपुर सभापति जितेन्द्र श्रेष्ठले भदौ २४ को तोडफोड र आगजनीमा कांग्रेसकै जिल्ला तहका केही नेताहरू खुलेआम संलग्न रहेको देखिएको आरोप लगाएका थिए।
‘कांग्रेसकै नेताहरू खुलेआम रूपमा जुलुस उत्तेजित पार्दै हिँडेको पनि देखियो,’ उनले बैठकमा भनेका थिए, ‘यस्तो कांग्रेस कसरी चलाउने? रूपान्तरण अनिवार्य शर्त भइसकेको छ।’
बैतडीका सभापति चतुरबहादुर चन्दले कांग्रेसले इतिहासमा पटक-पटक धेरै प्रतिकूलता बेहोरेको र अब पनि अहिलेको प्रतिकूलता चिरेर अघि आउने तर पार्टी नयाँ पुस्ताको भावना अनुसार रूपान्तरण हुनुपर्ने बताएका थिए।
बैठकमा बोल्ने बहुसंख्यक जिल्ला सभापतिहरूले एमालेसँग सत्ता सहयात्रा गर्नु नै कांग्रेसले गरेको सबैभन्दा ठूलो भूल भएको बताएका थिए।
बैठकमा सहभागी सबैजसो जिल्ला सभापतिहरूको धारणा सुनिसकेपछि महामन्त्री गगन थापाले बैठकलाई सम्बोधन गरेका थिए।
महामन्त्री थापाले आर्थिक अपराध र अनियमितताको राज्यले छानबिन गर्नुपर्ने धारणा राख्दै पार्टी रूपान्तरण अनिवार्य रहेको र त्यसका लागि सबैको साथ जरूरी रहेको बताएका थिए।
‘अहिले हामी धेरैको घर जलाइएको छ, निजी र राज्यको सम्पत्तिमा आगजनी भएको छ। यस्तो अवस्थामा हामीले उच्च मनोबलसहित धैर्यताको बाटो रोज्नुपर्नेछ,’ थापाले भनेका थिए, ‘हामीले देशभरका पार्टीका साथीहरूको धारणा बुझ्न यो बैठक आयोजना गरेका हौं। तपाईंहरूले भने जस्तै हामी सबैले उच्च मनोबलसहित पार्टी रुपान्तरण गर्नुपर्नेछ। हामी सक्छौं, हामी गर्नेछौं।’
थापाले पार्टीलाई माथिदेखि तलसम्मै नवनिनर्माण जरूरी रहेको बताए। यसअघि सार्वजनिक रूपमै पनि पार्टी रूपान्तरणको आह्वान गर्दै आएका उनले बैठकमा नयाँ कांग्रेस निर्माणको अभियानमा साथ दिन जिल्ला सभापतिहरूलाई आग्रह गरे।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले निराश नभइकन पार्टी काममा जुट्न सभापतिहरुलाई आग्रह गरेका थिए।