जेनजी आन्दोलनको क्रममा वीरगञ्ज महानगरपालिकामा १ सय १५ करोडको क्षति भएको अनुमान छ।
महानगरपालिकाले संकलन गरेको प्रारम्भिक विवरण अनुसार १ सय १५ करोडको क्षति भएको अनुमान गरिएको हो।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा तोडफोड र आगलागीबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएका छन्। करिब १ सय १५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
महानगरका वडा कार्यालयहरू र स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण संकलन गर्न बाँकी नै छ।
महानगरपालिकाको वडा नं १०, २६ लगायतका कार्यालयमा क्षति पुगेको छ। पूर्ण विवरण तयार भएपछि वास्तविक क्षतिको तथ्यांक आउने उनले बताए।
यसैबीच आज वीरगञ्ज महानगरपालिकाको नगरपरिषद बैठक बसेको छ।
बैठकले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गर्ने र त्यसलाई संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ। त्यसका लागि केही दिनमै विशेष अधिवेशन बोलाइने प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए।
बैठकमा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू तथा विभागीय प्रमुखहरू पुनर्निर्माण छिटोभन्दा छिटो सुरू गर्नुपर्नेमा एकमत देखिएका छन्।
बैठकले हालैको आन्दोलन वास्तविक जेनजीका प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहर गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार, जेनजी युवाहरूको नाममा भएको आन्दोलनमा घुसपैठमार्फत आपराधिक गतिविधि भएको प्रमाण फेला परेको छ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गर्ने निर्णय नगर परिषदले गरेको उनले जानकारी दिए।
गत सातादेखि वीरगञ्जमा जेनजी आन्दोलनका नाममा भएको प्रदर्शन हिंसात्मक मोड लिँदै आएको थियो। यस क्रममा महानगर प्रमुख राजेशमान सिंहको निवाससहित सार्वजनिक सम्पत्तिमा आगजनी गरिएको थियो। आगलागीबाट कार्यालय कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री जलेर खरानी भएका थिए। प्रहरी प्रशासनले तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीका बयान संकलन गरिरहेको जनाएको छ।
नगर परिषदको बैठकले हालको असामान्य परिस्थितिमा वीरगंजलाई फेरि सुरू बनाउन र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता प्रकट गरेको छ।
बैठकले हालैको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गर्नुको साथै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।