भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार अमेरिकाको पछिल्लो गतिविधिलाई आफ्नो देशमाथिको आक्रमण भनेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागुऔषध बोकेको एउटा डुंगामाथि सेप्टेम्बर २ मा अमेरिकाले आक्रमण गरेर भेनेजुएलाका ११ जना तस्करको हत्या गरेको दाबी गरेका थिए। ट्रम्पले अहिले दक्षिणी क्यारेबियन क्षेत्रमा शक्तिशाली पनडुब्बी र युद्धपोतहरू पठाएका छन्।
सो विषयमा सोमबार एक पत्रकार सम्मेलन गर्दै मदुरोले त्यसो भनेको समाचार संस्था रोएटर्सले लेखेको छ।
अमेरिकी सरकारले आफ्नो देशमाथि भएको आपराधिक हमलालाई जायज ठहराउने प्रयास गरिरहेको भनेर उच्च सैन्य अधिकारी र अन्य अधिकारीहरू उपस्थित रहेको सो पत्रकार सम्मेलनमा उनले दाबी गरे।
'यो तनाव होइन। यो हरेक हिसाबले आक्रमण हो। जब उनीहरूले हामीलाई अपराधीकरण गर्छन्, त्यो न्यायिक आक्रमण हो। जब उनीहरूले दैनिक धम्कीपूर्ण बयान दिन्छन्, त्यो राजनीतिक आक्रमण हो। त्यो कूटनीतिक आक्रमण हो र सैन्य प्रकृतिको निरन्तर आक्रमण हो,' उनले भने।
मदुरोको सरकारले विगतमा अमेरिकी अधिकारीहरूसँग बन्धकहरूको रिहाइदेखि चुनावका सर्तहरूसम्मका सबै कुरामा वार्ता गर्न भेट्ने गरेको थियो। तर उनले यो महिना दुई सरकारबीचको सञ्चारमा क्षति पुगेको बताएका थिए।
उनले सञ्चार अन्त्य भएको बताए पनि पछि अमेरिकाबाट भेनेजुएलाका नागरिकलाई फिर्ता ल्याउन सहज बनाउन अझै पनि आधारभूत सञ्चार कायम रहेको जानकारी दिए।
अर्कोतर्फ मदुरोले भेनेजुएलामाथि आक्रमण गरेको आरोप लगाएको केही बेरमै ट्रम्पले भने अर्को भेनेजुएली डुंगामा अमेरिकाले हमला गरेको भिडिओ सार्वजनिक गरेका छन्।
सो भिडिओ सार्वजनिक गर्दै उनले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकाले गरेको सो आक्रमणमा तीन जनाको मृत्यु भएको बताएको भनेर द न्यू योर्क टाइम्सले लेखेको छ। पछिल्लो हमलाबारे थप विवरण भने सार्वजनिक भएको छैन।
यसरी अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागुऔषध तस्करहरू भएको आरोप लगाउँदै मानिसहरूको हत्या गरेपछि अमेरिकाभित्रै पनि विरोध भएको छ। केही अमेरिकी सांसदले दुई हप्ता अघिको हत्याको औचित्य पुष्टि गर्नुपर्ने माग गरिरहेका छन्।
ट्रम्पले केही हप्ताअघि दक्षिणी क्यारेबियन क्षेत्रमा क्षेत्रमा सात वटा युद्धपोत र आणविक शक्तिबाट चल्ने एउटा पनडुब्बीमा चार हजार पाँच सयभन्दा बढी अमेरिकी सैनिक पठाएका थिए। त्यसपछि उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गर्न लागेको अड्कल काट्न थालिएको छ।
दक्षिणी क्यारेबियन क्षेत्रबाट भेनेजुएला एकदमै नजिक पर्छ। यति धेरै अमेरिकी शक्ति यो क्षेत्रमा आएपछि राष्ट्रपति मदुरो आत्तिएका छन्। ट्रम्पले आफूलाई सत्ताबाट हटाउन शक्ति प्रयोग गर्न लागेको भन्ने डर मदुरोलाई परेको छ।
ट्रम्प सरकारले भने भेनेजुएलाका लागुऔषध तस्करहरूसँग लड्न अमेरिकी फौज पठाएको बताएको छ। ट्रम्प सचिवालयका उपप्रमुख स्टिफन मिलरले अमेरिकी गोलार्द्धमा रहेका लागुऔषध तस्करी गर्ने संगठन, आपराधिक गिरोहहरू लगायत विदेशी आतंकवादी संगठनलाई परास्त गर्न नौसेना खटाइएको बताएका छन्।
अमेरिकी सैन्य उपस्थितिले लागुऔषधको व्यापार कसरी रोक्न सक्छ भन्ने चाहिँ स्पष्ट छैन।
समाचार संस्था रोयटर्सका अनुसार भेनेजुएला र क्यारेबियन क्षेत्रबाट अमेरिका पुग्ने प्रायः लागुऔषध गोप्य उडानमार्फत् जान्छन्। अरू देशबाट समुद्री बाटो भई आउने लागुऔषध पनि अधिकांश प्रशान्त महासागर हुँदै आउँछ। ट्रम्पले भने एटलान्टिक महासागरमा रहेको क्यारेबियन क्षेत्रमा नौसेना पठाएका छन्।
अमेरिकाले भेनेजुएलाका लागुऔषध तस्करमाथि प्रहार गर्न अहिले त्यति ठूलो संख्यामा सैनिक र युद्धपोतहरू पठाउनु नपर्ने जिकिर रक्षाविज्ञहरूले गरेका छन्। त्यसैले यसरी सेना पठाउनुको खास उद्देश्य मदुरोलाई सत्ताबाट हटाउने हुन सक्ने भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्।
गत महिना अमेरिकाले मदुरोको लागुऔषध तस्करसँग सम्बन्ध रहेको भन्दै उनलाई पक्रिन सहयोग गर्नेलाई दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्याएको थियो।
अमेरिकी विदेशमन्त्री मार्को रूबियो र महान्यायाधिवक्ता पाम बन्डीले पुरस्कार बढाएको घोषणा गरेका थिए। अमेरिकामा लागुऔषध तस्करी गर्न मदुरोले सहयोग गरेको आरोप उनीहरूले लगाएका थिए।
'मदुरो एक दशकभन्दा बढी समयदेखि अमेरिकामा लागुऔषध तस्करीका लागि जिम्मेवार कार्टेल डे लोस सोलेसका नेता हुन्,' रूबियोले विज्ञप्ति निकाल्दै भनेका थिए।
बन्डीले पनि भिडिओ सन्देशमा उक्त कार्टेलसँगै सिनलोआ र ट्रेन डे अरागुवा जस्ता विदेशी आतंकवादी संगठनहरूको प्रयोग गरी मदुरोले अमेरिकामा घातक लागूऔषध र हिंसा भित्र्याएको आरोप लगाएकी थिइन्।
सोही ट्रेन डे अरागुवाका ११ जना तस्करलाई सेप्टेम्बर २ मा अमेरिकी सेनाले हत्या गरेको ट्रम्पले खुलासा गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)