भदौ २४ गते भएको आगजनीपछि खण्डहर बनेको तुलसीपुर उपमहानगरपालिकाको प्रशासनिक भवनमा सर्वदलीय बैठक बसेको छ।
मंगलबार बसेको बैठकमा दर्जनौं नेताले धारणा राखे पनि सभाहलमा एक पटकसमेत ताली बजेन।
मेयर टीकाराम खड्काले सर्वदलीय बैठकको सुरूमा सम्बोधन गरे।
मेयर टीकाराम खड्काले 'जनताले आफ्नै सम्पत्ति जलाउनु गल्ती भएको' भन्दै त्रिपाल टाँगेर भए पनि सेवा सुरू गरिएको बताए। अन्य दलका नेताहरूले आन्दोलनलाई सुधारको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले जेनजीको आन्दोलन एक सच्चिने अवसर भएको हुँदा भविष्यमा सबै सेवा प्रदायक संस्थाहरूले आफूलाई सच्चाउँदै र आम मान्छेको सेवामा ध्यान दिन आग्रह गरे। आगजनीबाट तुलसीपुर क्षेत्रका सबै सरकारी कार्यालयहरू नष्ट पारिएको हुँदा तत्काल सेवा प्रवाहको लागि उद्योग वाणिज्य संघको तल्लो तला र दोघरेस्थित लुम्बिनी प्रदेश तेक्वान्दो संघको सभाहल प्रयोग गर्न आग्रह गरे।
आगजनीमा सात वटा चारपाङ्ग्रे, १३ वटा मोटरसाइकल, दमकल, ट्यांकरसहित करोडौं मूल्यका सम्पत्ति जलेर नष्ट भएका थिए। दुई वर्षअघि साढे पाँच करोडमा बनेको प्रशासनिक भवन समेत प्राविधिक परीक्षणपछि बस्न अयोग्य ठहरिएको छ।
सम्मुखमा रहेको वर्षौं पुरानो उपमहानगरपालिकाको पुरानो भवन पनि आगजनी र तोडफोडका कारण बस्नका लागि अनुपयुक्त बनेको योगीले जानकारी दिए। जुन भवनमा पनि विभिन्न शाखाहरू संचालन हुँदै आएका थिए।
पुरानो भवनको ठिक उत्तर तर्फको साढे १७ करोड लागतको भवनमा पनि ढुंगामुढा भएको छ। ‘तुलसी टावर’ नामक यो भवन सात तलाको छ।
तुलसीपुरका सबैजसो सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी भएको हुँदा त्यस्ता सरकारी कार्यालयहरू पनि उनीहरूले चाहेमा मर्मत पछि ‘तुलसी टावर’ बाटै तत्कालका लागि सेवा सञ्चालन गर्न दिइने मेयर टीकाराम खड्काले बताए। प्राविधिक चेकजाँच गर्दा उच्च अदालत तुलसीपुर र आन्तरिक राजश्व कार्यालय तोडफोड पछिको आगजनीका कारण बस्न अयोग्य देखिएका छन्।
ती कार्यालयहरू कहाँबाट संचालन गर्ने भन्ने अन्यौलता बढेको सरोकारवालाहरूले बताएका छन्।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले भने सोमबारदेखि आफ्नै प्रांगणमा त्रिपाल टाँगेर अतिआवश्यक सेवाहरू सुरू गरेको छ ।