नेपाली कांग्रेसले संविधान दिवस मनाउन सर्कुलर गरेको छ।
उपसभापति पूर्णबहादुर खड्काका अनुसार असोज ३ गते हात-हातमा संविधान लिएर दिवस मनाउन सर्कुलर गरिएको हो।
‘७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले हात-हातमा संविधान लिएर संविधान दिवस मनाउन सर्कुलर गरिएको छ,’ केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकारहरूसँग उनले भने, ‘अत्यन्त संयमतापूर्वक र दृढतापूर्वक संविधान रक्षाको जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने हाम्रो निर्णय छ।’
उपसभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा भर्चुअल रूपमा केन्द्रीय कार्यसम्पादन, पदाधिकारी, प्रदेश र जिल्ला सभापति तथा जनसम्पर्क समितिहरूसँग पनि कुराकानी गरिएको बताए।
कांग्रेसले प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटन सिफारिस गरेकोमा विरोध गर्दै उक्त कदम असंवैधानिक भन्दै आएको छ।