राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक अगुवाहरूसँग भेटमा जेन–जी प्रदर्शनकारीसँग भएको वार्ताको प्रसंग सुनाएका छन्।
शीतल निवासमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न आफूले नमानेको प्रसंग सुनाएका हुन्।
‘आन्दोलनकारी शक्तिको प्रतिनिधि सभामा विघटन गरेर प्रधानमन्त्रीको नियुक्ति गर्नुपर्छ भन्ने माग थियो। मैले मलाई यो अधिकार छैन, म त्यो गर्न सक्दिनँ। यो संविधान ल्याउन मेरो पनि भूमिका छ। संविधानभन्दा बाहिर जान्नँ। संविधानको रक्षाका लागि म सहिद हुन तयार छु भनेँ’, राष्ट्रपतिलाई उदृत गर्दै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सेतोपाटीसँग भने।
चीनका लागि पूर्वराजदूत महेश मास्के, मानव अधिकारवादी मल्ल के सुन्दरसहित नागरिक अगुवा राष्ट्रपति पौडेललाई भेट्न बिहीबार शीतल निवास पुगेका थिए।
राष्ट्रपति पौडेल भदौ २७ गते अन्तरिम सरकार गठन गर्नुअघि प्रतिनिधि सभा विघटन गर्न राजी भएका थिएनन्।
उनले प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीको सिफारिसमा मात्र प्रतिनिधि सभा विघटन गरेका थिए। जबकि आन्दोलनकारीहरूले प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनको माग अघि सारिरहेका थिए।
भेटमा नागरिक अगुवाहरूले ‘संविधानको थप क्षति नहोस् भन्नेमा’ राष्ट्रपति सचेत बन्नुपर्ने बताएका थिए।
उनीहरूले ‘राजनीतिक दलको भूमिका खुम्च्याउने र प्रतिशोध साँध्ने काम नहोस्’ भन्दै राष्ट्रपतिलाई सुझाएका थिए।
‘राजनीतिक दलको भूमिका खम्च्याउने र प्रतिशोध साँध्ने काम नहोस्। भ्रष्टाचारको छानबिन र जनधनको क्षतिको छानबिनमा हाम्रो सहयोग हुन्छ, भन्यौं’, भट्टराईले भने, ‘बहुदलीय व्यवस्था र संविधान कायम रहँदा दलहरुको सहयोग नलिई निर्वाचन गर्न गाह्रो हुन्छ। समयमा निर्वाचनका लागि राष्ट्रपतिले सरकार, दलहरुलाई विश्वासमा लिएर निर्वाचन गराउनुहोस्, भन्यौं।’
भेटमा राष्ट्रपति पौडेलले ‘असहज परिस्थितिमा संविधान केही तल माथि हुन गएको’ बताएका थिए।
संविधान अनुसार सरकारको गठन धारा ७६ अनुसार हुनुपर्ने भए पनि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार धारा ६१ अनुसार गठन भएको थियो।
‘अब चुनावमा ध्यानकेन्द्रित हुन्छ। संविधान विपरितका कुनै पनि काम राष्ट्रपतिले गर्दैनौं, भन्नुभयो’, भट्टराईले भने, ‘सरकारले पनि त्यस विपरीत जानु हुँदैन, भन्नुभयो।’
राष्ट्रपति पौडेलले सुरक्षा निकायको भूमिकाबारे भने प्रशंसा गरेको भट्टराईले उल्लेख गरे।
‘सुरक्षा निकाय पनि अफ्ठ्यारो अवस्थामा थियो। राम्रै भूमिका निवार्ह गर्नुभयो। म सँग निरन्तर सम्पर्क र संवाद भएको थियो’, राष्ट्रपतिलाई उदृत गर्दै भट्टराईले भने, ‘मैले राजनीतिक दलसँग पनि र प्रधानमन्त्री (केपी शर्मा ओली) सँग पनि सम्पर्क गरेँ।’
राष्ट्रपति पौडेलले जेन–जी प्रदर्शनकारीको आक्रमणमा घाइते भएका शेरबहादुर देउवासँग पनि आफूले फोन सम्पर्क गरेको उल्लेख गरेका थिए।
‘प्रचण्ड र माधव नेपाल यहिँ आउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्पर्क गरेँ’, राष्ट्रपतिलाई उदृत गर्दै भट्टराईले भने, ‘संविधानसम्मत निकासका लागि प्रधानमन्त्रीले पनि सहयोग गर्नुभयो।’
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो।