राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही संविधानअनुसार सरकारले निर्वाचन गरे मुलुक थप असफलतातिर जाने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादनसमिति बैठकपछि निर्णय सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले भने, ‘यही संविधानलाई अगाडि बढाएर लान्छु र यही संविधान कार्यान्वयन गर्छु र यही संविधानअनुसार चुनाव गर्छु भनेर यो सरकारले पर्यत्न गर्यो भने मलाई लाग्छ मुलुक थप असफलतातिर जान्छ।’
उनले मुलुक प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणालीमा जानुपर्ने बताए।
देश यही व्यवस्था र अवस्थामा अघि बढ्न सक्दैन भनेर राप्रपाले तत्कालीन सत्तारूढ दलहरूलाई भन्दै आएको पनि उनले बताए। विद्रोहको वातावरण तयार भएको कुरा पनि राप्रपाले पहिले नै दलहरूलाई भन्दा अदेखा गरिएको उनले बताए।
‘नेताहरूले भाग्नुपर्ने परिस्थिति आउँछ भनेर हामीले भनिराखेका थियौं, त्यसका लागि वातावरण बनिराखेको थियो। यस्तो परिस्थिति आउनुमा अहिलेको व्यवस्था र यो व्यवस्था ल्याउने नेताहरू नै दोषी छन्,’ उनले भने।
सार्वजनिक सम्पत्ति तोडफोडमा राप्रपाको संलग्नता नरहेको पनि उनले बताए।
‘राप्रपाले सबैभन्दा माथि देशलाई राखेको छ। देशको र व्यक्तिको सम्पत्ति नष्ट गर्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौं, कोही व्यक्तिगत रूपमा राप्रपामा मानिस संलग्न छन् भने तिनीहरूलाई कारबाही हुनुपर्दछ। त्यस्तो पुष्टि भयो भने पार्टीले उनीहरूको सदस्यता खारेज गरेर अघि जान्छ। जेनजीको आन्दोलनमा राप्रपाको समर्थन भने थियो।’