राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा अन्तर्गतका समिति सभापतिहरूसँग छलफल गरेका छन्।
अध्यक्ष दाहालले बिहीबार छलफल गरेको विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन्।
अध्यक्ष दाहालले छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको कुरा जानकारी गराएको उनले बताइन्।
उनले राष्ट्रिय सभा अन्तर्गतका समितिहरूले गर्ने काम नियमित रूपमा गर्न निर्देशन दिएको पनि जानकारी दिइन्।
प्रतिनिधि सभा नभएको बेलामा राष्ट्रिय सभाले सरकारलाई सहयोग तथा समन्वय गर्ने विषयमा छलफल भएको उनले जानकारी दिइन्।
उनले भनिन्, ‘राष्ट्रिय सभा स्थायी सदन भएकोले समितिको नियमित कामहरू जुन छन्। जस्तो वार्षिक प्रतिवेदनका कुराहरू छ, समिक्षाका कुराहरू छन्। त्यसपछि हाम्रो कार्यक्षेत्र अन्तर्गत अहिले भएको जुन एउटा संरचनाहरूको ध्वस्त भएका, व्यक्तिगत घरहरू ध्वस्त भएको छ, त्यो सरकारलाई तथ्यगत तथ्याङ्कहरू के हुन्छ? क्षतिपूर्तिका कुराहरू, औषधि उपचारका कुराहरू, तीन सयभन्दा बढी अस्पतालमा भर्ना भएका छन्। उहाँहरूलाई अलिकति अनुगमन गर्ने सरकारलाई निर्देश गर्ने भन्ने छ।’
उनले अगाडि भनिन्, ‘उपचार गर्ने कुराहरूमा, राहत दिने कुराहरूका क्षतिपूर्ति दिने कुराहरूमा र अर्को भौतिक संरचनाको तथ्यगत तथ्यांक के हो? अनुसन्धान गरेर लिएर आएर त्यसमा हेर्ने र अर्को समन्वय, सहकार्य गर्ने। यतिखेर प्रतिनिधि सभा नभएको हुनाले राष्ट्रिय सभा भएको हुनाले राष्ट्रिय सभाले सरकारलाई सहयोग पुर्याउने। केही नियमित कामहरू गर्ने र अर्को चाडपर्व नजिकै आएको हुनाले चाडपर्वको मुखमा जस्तो मंहगी, मूल्य जुन बढेको छ। समितिले आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्ने भन्ने कुरा भएको छ।’
संसद सचिवालयका उपसचिव अनन्तप्रसाद कोईरालाले राष्ट्रिय सभा अन्र्तगतका चार वटा विषयगत समितिहरू हाल सक्रिय अवस्थामा रहेको जानकारी दिए।
विशेष परिस्थिति मार्फत् चुनावी सरकारले बनेको अवस्थामा समितिले के कसरी सहयोग, सहजीकरण गर्ने भन्ने बारेमा छलफल भएको उनले बताए।
चार वटै समितिका सभापति, समिति सचिव र राष्ट्रियसभा सचिवसहितको अनौपचारिक बैठक बसेको उनको भनाइ छ । – न्युज एजेन्सी नेपाल