नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनभावना के छ भन्ने कुरा पार्टी र नेतृत्वलाई थाहा भएको र सो अनुसार क्रमभंग गर्न तयार रहेको बताएका हुन्।
'के गरी जनभावना सम्बोधन गर्ने भन्नेकुरा नेतृत्व, तपाईं हामीलाई थाहा छ। निरन्तरतामा क्रमभंगता भन्ने गरिएको छ । फेरि पनि जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहन्छ,’ उनले भने।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पनि अरू पार्टीजस्तै हो भन्ने गलत भाष्य निर्माण गरिएको आरोप लगाए।
'माओवादी केन्द्र फरक चिज हो, यो फरक धातुले बनेका मान्छेहरुको पार्टी हो । अरु जस्तै हो भनेर जो भाष्य साम्रज्यवादी र प्रतिक्रियावादीले बनाउन खोजेका छन्, त्यो होइन,' उनले भने।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरुको पार्टी भएको बताउनुभएको छ ।
बीचमा थुप्रै कमी कमजोरी भए पनि माओवादी केन्द्रले आत्मसमीक्षा गरेको पनि उनले बताए।
'कम्तिमा पनि इतिहासको, वर्तमानको पनि समीक्षा गरेर हेर्न र माओवादी केन्द्र बीचमा थुप्रै कमी कमजोरी भएका छन् भनेर आत्मसमीक्षा गरेका छौं,' उनले भने।
प्रचण्डले अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो बनाउने गोरेटो कोर्न सक्ने विश्वास पनि व्यक्त गरे।
'हामी कोही निराश हुन जरुरी छैन । हामी उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण पनि गर्ने, संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी पनि गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत पनि गर्ने आवश्यकता यति बेलाको हामी सबैको आवश्यकता हो,' उनले भने।