संविधान दिवसलाई मधेसी दलले ‘कालो दिन’को रुपमा मनाएका छन् । ७ दलीय ‘संयुक्त लोकतान्त्रिक मोर्चा’ले संविधान जारी भएको दिनको विरोधमा कार्यक्रम गरेका हुन् ।
संविधानले मधेसलाई दिएको अधिकार अपूरो र विभेदपूर्ण रहेको भन्दै मोर्चाले शुक्रबार वीरगञ्जमा हातमा कालो पट्टी बाँधेर विरोध जनायो ।
‘संविधान जारी भएको दिन ब्ल्याकआउट गरेका थियौं, कालो दिनको रुपमा मनाएका छौं,’ सहभागीहरुले भने।
मोर्चामा आवद्ध दलका नेता कार्यकर्ताहरुले घण्टाघरस्थित शहीद स्मारकमा मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सालिकमा माल्यार्पण समेत गरेका थिए। कार्यक्रममा सहभागी नेताहरुले संविधानमा त्रुटी रहेकोले सच्याउन आवश्यक रहेको बताए ।
उनीहरूले संविधान दिवसलाई उत्सवको रूपमा होइन, अधिकार र पहिचानका सवालमा अझै अधुरो यात्रा सम्झाउने कालो दिनका रूपमा मनाउनुपरेको तर्क गरे ।
नेताहरूले संविधान निर्माण प्रक्रियामा मधेसको वास्तविक प्रतिनिधित्व र मागलाई बेवास्ता गरिएको आरोप लगाउँदै उनीहरुले मधेसी, थारू, आदिवासी–जनजाति, मुस्लिमलगायत समुदायका अधिकार सुनिश्चित गर्न संविधान संशोधन वा पुर्नलेखन अपरिहार्य रहेको धारणा राखे ।
जसपा नेपाल अध्यक्ष यादवले संविधानमा त्रुटीहरु रहेकोले त्यसलाई सच्याउनुपर्ने बताए ।
‘संविधानमा त्रुटीहरु छन्, त्यसलाई सच्याउनुपर्छ, त्यसका लागि संविधान पूर्नलेखन वा संसोधन गर्नुपर्छ,’ उनले भने ।
देश नयाँ युगमा प्रवेश गर्दैगर्दा संविधानको रक्षा हुनु आवश्यक भए पनि मधेश जनविद्रोहलाई भुल्न नहुने उनको तर्क छ ।
‘०७२ सालमा ६ महिनासम्म विश्वमै उदाहरणीय आन्दोलन गरेका हौं। संघीयतालाई स्थापना गरेका हौं। संविधानलाई आत्मसात गरेपनि संसद र सडकमा आवाज उठाउँदै आएका छौं । जायज माग पुरा गराउन, संविधानमा छुटेका कुराहरुलाई पुर्नलेखन गराउन, संसोधन गराउने अडानमा सुरुदेखि नै छौं,’ अध्यक्ष यादवले भने।
संविधान मानेर निर्वाचनमा जाने, सत्तामा पनि जाने तर विरोध गर्ने भनेर मधेसी दलको आलोचना हुने गरेको छ । तर अध्यक्ष राम नरश यादवले सत्तामा जानु अलग कुरा भएको बताए ।
‘सत्तामा गए पनि आवाज छोडेका छैनौं । संसदमा आवाज बुलन्द गरेर उठाउने, सडकबाट पनि सरकारलाई दबाब दिने हो,’ उनले भने, ‘सहिदलाई सम्मान गर्ने र असन्तुष्टिलाई जनमानसमा लैजाने उद्देश्यले कालो दिवसको रुपमा मनाएका हौं ।’
मधेस आन्दोलनको वलिदान र संघर्षलाई बिर्सेर उपेक्षा गर्न नहुने उनको भनाइ छ ।
कार्यक्रममा जनमत पार्टीकी नेतृ करिमा बेगम, शशीकपुर मियाँ, निजामुदिन समानी सहित ७ दलीय मधेसी मोर्चाका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
जनमत नेतृ करिमा बेगमले महिलामाथि हुने भेदभाव अन्त्य गर्दै समानुपातिक हक सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।
०७२ असोज ३ गते संविधान जारी गर्ने दिन वीरगञ्जमा कर्फ्यू लगाइएको थियो । आन्दोलनरत मधेसी दलको आव्हानमा कफ्र्यु तोडने क्रममा प्रहरीले चलाएको गोली लागेर पर्साको पाकाहामैनपुरका शत्रुधन पटेलको मृत्यु भएको थियो भने बगहीका मन्सी पटेल र बैरियाविर्ताका विजय यादव घाइते भएका थिए। मन्सी अझै पनि उपचाररत छन् ।