वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट संशोधन गरी पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको छ।
शनिबार बसेको विशेष अधिवेशन (विशेष नगर सभा) ले पुनर्निर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो।
विशेष नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले बजेट संशोधनको प्रस्ताव पेस गरेका थिए।
महानगरको १७ औं नगर परिषदले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो। विकास बजेटलाई संशोधन गरी पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय विशेष अधिवेशनले गरेको प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए। कुन कुन शीर्षकको बजेटलाई स्थानान्तरण गर्ने भन्ने बारेमा भने निर्णय नभएको उनले बताए।
'नगरस्तरीय, वडास्तरीय कुन कुन शीर्षकको बजेट स्थानान्तरण गर्ने तय भएको छैन, त्यसको अधिकार नगर प्रमुखलाई दिइएको छ, स्थानान्तरण गर्ने योजना छनोट भइसकेपछि कार्यपालिकाबाट पास गर्नुपर्ने हुन्छ,' उनले भने।
त्यसैगरी विशेष अधिवेशनले यसअघि बसेको कार्यपालिका बैठकको निर्णयलाई अनुमोदन गरेको छ।
कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा महानगर र वडा कार्यालयमा भएको क्षति मूल्यांकन गरेर विवरण संकलन गर्ने, क्षतिपूर्तिका लागि सरकारसँग माग गर्ने, अर्को सूचना जारी नहुँदासम्म विकास कार्यक्रम स्थगित गर्ने लगायतको निर्णय गरेको थियो।
प्रदर्शनको क्रममा महानगरपालिकाको कार्यालयमा भएको तोडफोड र आगजनीबाट १ सय १५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
तर नगर प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार बजेट संशोधनपश्चात करिब ३० करोड रुपैयाँ पुनर्निर्माणका लागि उपलब्ध हुने अनुमान छ।
संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारी साधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुलीबत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गरिनेछ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाटबाट क्षति पुगेको छ। जसले गर्दा महानगरबाट प्रदान गरिने सेवा ठप्प छ।
असहाब आलम परिवारलाई ५ लाख सहयोग गर्ने
विशेष अधिवेशनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका वीरगञ्ज महानगरपालिका वडा नं. १२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ।
काठमाडौंमा जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर आलमको मृत्यु भएको थियो।