नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापतिमाथि सांघातिक हमला भएको अवस्थामा पनि पार्टीकै जिम्मेवार नेताहरू संवेदनशील नदेखिएको बताएका छन्।
भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी गरेको आफ्नो घरमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई लक्ष्य गर्दै पार्टीको नेतृत्वमाथि सांघातिक हमला हुँदा जिम्मेवार नेताहरू नै असंवदनशील बन्नुलाई दुर्भाग्य भनेका हुन्।
'आलो घाउ ठीक नहुँदै पार्टीभित्र जुन बहस सुरू गरिएको छ। त्यसप्रति गम्भीर होऔं,' उनले भने।
उनले पार्टी एक भएर कमि कमजोरी हटाउँदै अघि बढ्ने बेला आलो घाउमा नुन छर्ने प्रवृत्ति देखिएको पनि बताए।
काठमाडौंमा २३ गतेको प्रदर्शनअगाडि त्यही सभापति ठीक हुने र अहिले परिस्थिति बदलिएपछि गलत हुने भन्ने प्रवृत्ति देखिएको प्रवक्ता महतले बताए।
'चार दिनअघि त्यही सभापति अत्यन्त ठीक हुने। हामी त अलि टाढा भएका थियौं। जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ, तत्काल परिवर्तनको कुरा उठाइरहनुभएको छ। उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो। हामीले कतिपय कुरा ठीक भइरहेको छैन भनेका थियौं। औलीले देखाएको शैलीले ठीक ठाउँमा पुर्याँदैनौं भन्नेमा हामी थियौं,' उनले भने,' नयाँ परिस्थिति बन्ने बित्तिकै एकछिन पनि हुँदैन भनेको केहो?'
उनले सांघातिक हमलाबाट घाइते भएका सभापतिको उपचार भइरहेको र उनको उपचार सकिएपछि नेतृत्वबारे पार्टीभित्र छलफल गर्न सकिने बताए।
'छलफलका लागि पार्टीका संरचना छन्। केन्द्रीय समिति छ। त्यहाँ गम्भीर छलफल गर्न सक्छौं। किन र कसरी भयो भनेर मूल्यांकन गर्छौं। त्यसका आधारमा सुधार पनि गर्छौं,' उनले भने, 'अभिभावकमाथि सांघातिक प्रहार हुँदा, उपचार पूरा हुँदासम्म पर्खिनुपर्दैन? आकाश खस्छ? त्यसका लागि पनि नपर्खिने?'
कार्यसम्पादन समितिबाट आधिकारिक रूपमा निर्णय भएकोभन्दा छुट्टै बहस जिम्मेवार नेताहरुले थालेको र यसले पार्टीलाई राम्रो नगर्ने उनले बताए।
पार्टीलाई मात्रै नभईदेशलाई अस्थिरतातर्फ धकेल्ने खोज्ने लोकतन्त्रविरोधी प्रवृत्तिहरूलाई मद्दत पुग्ने उनले बताए।
'पार्टी प्रवक्ताको हैसियतले सहज हुँदा एकदम अतिशयोक्तिपूर्ण किसिमबाट हामी प्रशंसा गर्ने अप्ठ्यारो हुनेबित्तिकै गाली बर्षात गर्ने उपयुक्त हुँदैन। सन्तुलित र संयमित होऔं। सघन छलफल गरौं र सामूहिक निष्कर्षमा पुगौं। अहिलेको अप्ठ्यारो परिस्थितिमा अगाडि बढ्ने उपयुक्त बाटो त्यही हो,' उनले भने।
भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी नेतृत्व परिवर्तनको बहस सुरू गरेका छन्।