गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुर्ननिर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
संघका अध्यक्ष बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको हो।
विश्वभरिका गैरआवासीय नेपाली नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमकको सहयोगका लागि प्रतिबद्ध रहेको भन्दै अध्यक्ष केसीले आन्दोलनका क्रममा देशमा भएको जनधनको अपूरणीय क्षतिप्रति दु:ख व्यक्त गर्दै पुनः निर्माणका लागि र मुलुकको कठीन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको बताए।
‘मुलुकको जटिल परिस्थितिमा विदेशमा रहेका नेपालीहरूले मातृभूमिलाई आर्थिक रुपमा सबल र समृद्ध बनाउन सक्ने अपार सम्भावना बोकेका छन्,' केसीले भने, 'उनीहरूको पुँजी, सीप, अनुभव र ज्ञानलाई संस्थागत ढंगले प्रयोग गर्न सकिने व्यवस्था मिलाउन सके मुलुकको समृद्धिको यात्रा सहज हुनेछ।’
जबाफमा प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणको लागि विदेशमा रहेका गैरआवासीय नेपालीलाई आग्रह गरेकी थिइन्।
पुनर्निर्माणको लागि नेपाली र गैरआवासीय नेपालीहरूसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उनले स्पष्ट पारिन्।
उनले मुलुकमा आर्थिक समृद्धिका लागि आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन आग्रह गरिन्। उक्त भेटमा अध्यक्ष केसीले 'एक पटकको नेपाली सदैव नेपाली' भन्ने मुल उद्देश्य अनुरुप संविधान संशोधनमार्फत गैर आवासीय नेपालीहरूलाई वंशजको नागरिकताको निरन्तरता सहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजन सहज रूपमा प्रत्याभूत गर्न अनुरोध गरे।
यसका साथै गैरआवासीय नेपाली संघको १२ औं महाधिवेशन आगामी ६ महिनाभित्रै गर्न लागिएको जानकारीसमेत उनले गराए। प्रधानमन्त्री कार्कीले संघले मताधिकार लगायत अन्य मागलाई सकारात्मक रुपमा लिएको तथा आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई विदेशबाट नै मतदान गर्ने व्यवस्था मिलाइने दिइन्।
भेटमा उपाध्यक्ष रोजिना प्रधान राई र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पनि उपस्थिति रहेको थियो।