जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयसहित प्रदेश र जिल्लालगायत मातहतका ४८ कार्यालयमा क्षति पुगेको छ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले केन्द्रीय कार्यालय आगजनी हुँदा करिब १० करोड रुपैयाँको क्षतिको विवरण प्राप्त भएको सेतोपाटीलाई बताए। भदौ २४ गते प्रदर्शनकारीहरूले सानेपास्थित केन्द्रीय कार्यालय तोडफोड गरी आगजनी गरेका थिए।
‘केन्द्रीय कार्यालयसहित देशभरका ४८ कार्यालयमा क्षति पुगेको छ,’ उनले भने।
साथै सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठसहित १२५ जना नेताहरूको घरमा तोडफोड तथा आगजनी भएको छ।
कांग्रेसले मातहत समितिहरूलाई पत्राचार गर्दै पार्टी कार्यालय र नेताका घरमा पुगेको क्षतिको विवरण उपलब्ध गराउन भनेको थियो।
आजसम्म प्राप्त जानकारीअनुसार केन्द्रीय समिति देउवासहित प्रदेश, जिल्ला र स्थानीय नेताको गरी १२५ जनाको घरमा आगजनी र तोडफोड भएको पाइएको प्रचार विभाग प्रमुख विश्वकर्माको भनाइ छ।
प्रदर्शनकारीहरूले विराटनगरस्थित कोइराला निवास, बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रमलगायतमा पनि आगजनी गरेका थिए।