अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा. संगीता कौशल मिश्राविरूद्ध छानबिन गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्की स्वास्थ्य मन्त्रीमा उनको नियुक्ती अघि नबढाउने मनस्थितिमा पुगेकी छन्।
प्रधानमन्त्री कार्कीले आइतबार उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री सिफारिस गरेकी थिइन्। उनको नाम राष्ट्रपति कार्यालयसमक्ष पठाइएको पनि थियो।
मिश्रा मन्त्री बन्ने भनेर पत्रपत्रिकामा समाचार आउन थालेपछि अख्तियारले उनीविरूद्धको अनुसन्धान सकिन लागेको र केही समयमा मुद्दा दर्ता गर्ने तयारी रहेको जानकारी प्रधानमन्त्री कार्यालयलाई गराएको स्रोतले बताएको छ। त्यसपछि उनको नियुक्ति प्रक्रिया अघि नबढ्ने अवस्था आएको हो।
‘प्रधानमन्त्री उहाँको नाम पुनर्विचार गर्नेपक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो, 'मन्त्री नियुक्तिकालागि राष्ट्रपति कार्यालयमा गइसकेको उहाँको नाम आज कार्यालय खुलेपछि फिर्ता हुन्छ होला।'
प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित पाँच जना नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा आइतबार साँझ नै पठाएकी थिइन्।
सिफारिस गरिएका बाँकी चार जनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियार छन्।
डा. मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिएकी थिइन्।
यसअघि उनी सचिव बन्ने दौडमा थिइन्। गत फागुन २२ को मन्त्रिपरिषद बैठकले उनलाई छाडेर डा. विकास देवकोटालाई सचिव नियुक्त गरेको थियो। वरिष्ठता मिचेर सचिव नियुक्त गरेपछि विवादित भएको थियो।
यसका लागि अतिरिक्त सचिवहरू डा. संगीता कौशल मिश्रा, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस भएको थियो।
आफूभन्दा कनिष्ठलाई मन्त्रिपरिषदले स्वास्थ्य सचिव नियुक्त गरेकोमा डा. मिश्रले विभिन्न माध्यमबाट असन्तुष्टि जनाएकी थिइन्।
डा. मिश्रा २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेर करिब एक वर्ष त्यहाँ काम गरेकी थिइन्। त्यसपछि उनी फुलब्राइट छात्रवृत्ति पाएर अमेरिका पढ्न गइन्।
फेरि २०७० असोज १० गते खुलातर्फको प्रतिस्पर्धामा ११औं तहमा नाम निकालेर उनी स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन्।
उनले स्वास्थ्य सेवा विभाग महानिर्देशक, कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरेकी छन्।