जेन-जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारले डा. जगत विकलाई स्वास्थ्यमन्त्री बनाउन माग गरेका छन्।
मृतक तथा पीडित परिवार संघर्ष समितिले आइतबार विकलाई मन्त्री बनाउनुपर्ने भन्दै प्रधानमन्त्री निजी सचिवालयमा माग पत्र बुझाएका छन्।
संघर्ष समितिका संयोजक कमल सुवेदीका अनुसार विकलाई स्वास्थ्य मन्त्री बनाउनका पीडित पक्षले माग गरेको हो।
'हाम्रो माग राख्दा स्पष्ट राख्दा पनि एकपटक पनि छलफलमा बोलाइएन,' संयोजक सुवेदीले भने, 'मृतकै परिवारको कुरा सुनिएको छैन।'
जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारहरू मिलेर समिति बनाइएको थियो। तर आफूहरूकै कुरा नसुनेको उनीहरूको गुनासो छ।
मृतकको परिवारहरूको मागलाई बेवास्ता गरिएको उनीहरूको आरोप छ। उनीहरूकै मागलाई पाखा लगाएर छलफल पनि नगरी मन्त्रिविस्तार गर्ने तयार संयोजक सुवेदीले जानकारी दिए।
उनका अनुसार भदौ २३/२४ गते मृत्यु भएकाका ५८ परिवार उक्त समितिमा छन्। अझै जोडिने क्रम जारी छ। मृतकका परिवार टिचिङ अस्पतालमा शव लिन लाइनमा बस्दा एकमुष्ठ भएर अगाडि बढ्नुपर्छ भनेर समिति बनाइएको हो।
‘२६ गतेदेखि समिति बनाइरहेका छौं। तत्काल दर्ता गर्न कार्यालयहरू बन्द भएकाले जिल्ला कार्यालयमा दर्ता भइसकेको छैन। प्रक्रियामा छ,’ उनले भने।
तर पनि मृतकका परिवारसँग सामाजिक तथा प्रत्यक्ष रूपमा एकआपसमा छलफल भइरहेको उनले बताए।
'मृतक परिवारबाटै कोही मन्त्री भएमा हाम्रो माग पनि सुनुवाइ हुन्छ भन्ने लागेर जगतलाई छानेका हौं,' उनले भने, '१०/११ दिनसम्म मृतकका परिवारलाई सरकारले छलफलमा समेत बोलाएको छैन। बेवास्ता गरेपछि हाम्रै प्रतिनिधित्व गरेको व्यक्ति हुनुपर्छ भन्ने सोचेर जगतलाई बनाउनुपर्ने माग राखेका हौं।'
जगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका उनले बताए। उनी जेन-जी आन्दोलनमा पनि सक्रिय थिए।
'हामीले पनि जस्तो पायो त्यस्तो व्यक्तिलाई मन्त्री बनाउन माग गरेका होइनौं। सक्षम व्यक्तिलाई नै बनाउन भनेका हौं। त्यही पनि छलफलमा समेत बोलाइएन,' उनले भने।
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकाले मृतकका परिवारले स्वास्थ्य मन्त्री बन्नुपर्ने माग राखेकोले आफ्नो नाम पेस गरिएको हुनसक्ने जगतले बताए।
‘हाम्रो आवाज बोलिदिने मान्छे पनि हुनुपर्छ भनेर मेरो नाम पेस गर्नुभएको हो,' जगतले भने, 'मैले आफैले मन्त्री हुनुपर्छ भनेर बोल्दै हिँडेको छैन।'
विक कैलालीको लम्कीचुहा-६ चैनपुरका हुन्। उनी २७ वर्षका भए।