प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीको नाम सिफारिस गरी राष्ट्रपति कार्यालयमा पठाए पनि एक जनाको नाम होल्ड भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम प्रधानमन्त्रीले नै होल्ड गर्न भनेको स्रोतको भनाइ छ।
‘५ जना मन्त्रीको नाम आएको थियो, एक जनाको होल्ड गर्न फोन आएको छ, चार जनाको नियुक्ति र शपथ आजै हुन्छ होला, दिउँसो २:३० बजेपछि शपथ हुने सम्भावना छ, यति बजे भनेर तोकिएको छैन,’ राष्ट्रपति कार्यालय स्रोतले भनेको छ।
साथै स्वास्थ्य मन्त्री पनि नयाँ नाम सिफारिस हुन सक्ने चर्चा पनि छ।
डा. मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिएकी थिइन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा. संगीता कौशल मिश्राविरूद्ध छानबिन गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री कार्की स्वास्थ्य मन्त्रीमा उनको नियुक्ति अघि नबढाउने मनस्थितिमा पुगेकी थिइन्।
सिफारिस गरिएका बाँकी ४ जनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियार छन्।