बेलायत, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टाइनलाई आइतबार औपचारिक रूपमा देशको मान्यता दिएका छन्।
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले एक विज्ञप्ति जारी गर्दै इसराइल-प्यालेस्टाइन द्वन्द्वको दुई-राज्य समाधानको सम्भावनालाई बचाउन बेलायतले यस्तो निर्णय गरेको बताएका छन्।
‘आज शान्ति र दुई-राज्य समाधानको आशालाई पुनर्जीवित गर्न, म यस महान देशको प्रधानमन्त्रीको रूपमा स्पष्ट रूपमा भन्छु कि बेलायतले प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिन्छ,’ स्टार्मरले भनेका छन्।
हमासलाई क्रूर आतंककारी संगठन भन्दै हमासले राखेका सबै बन्धकहरूलाई तत्काल रिहा गर्न पनि उनले आह्वान गरेका छन्।
‘वास्तविक दुई-राज्य समाधानको लागि गरिएको आह्वान उनीहरूको घृणित विचारको ठीक उल्टो हो,’ उनले थपेका छन्।
गाजा वा प्यालेस्टाइन राज्यको भविष्यको शासनमा हमासको कुनै भूमिका हुन सक्दैन भनेर पनि उनले स्पष्ट पारेका छन्।
स्टार्मरको घोषणा हुनुभन्दा केही समयअघि क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजीले पनि आ-आफ्ना देशले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको घोषणा गरेका थिए।
अमेरिका र इसराइलका तीन नजिकका मित्र राष्ट्रहरूले गरेको यो निर्णयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई थप एक्लो बनाएको छ। दुवै जना प्यालेस्टाइन राज्यको विपक्षमा छन्। यी देशहरूको कदम फ्रान्स र साउदी अरेबियाले आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको अगाडि आएको हो।
दुई-राज्य समाधानको समर्थनमा र हमासको विरोधमा यो सम्मेलन सोमबार न्युयोर्कमा हुनेछ। फ्रान्स लगायत अन्य धेरै देशहरूले पनि यस हप्ता संयुक्त राष्ट्र संघको महासभाको समयमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने अपेक्षा गरिएको छ।
संयुक्त राष्ट्रसंघमा सदस्य रहेका १९३ देशमध्ये १४५ भन्दा बढी देशले पहिले नै प्यालेस्टाइनलाई देशको मान्यता दिइ सकेका छन्। हमासले २०२३ अक्टोबर ७ मा इसराइलमाथि आक्रमण गरेपछि इसराइलले गजालाई ध्वस्त पारेको छ।
गजामा २२ महिनाभन्दा बढीको युद्धका क्रममा दसौं हजार बालबालिका र महिलाको हत्या गरेको, प्यालेस्टिनीको नरसंहार गरेको आरोप छ।
अहिले इसराइलभित्रै पनि निर्दोष प्यालेस्टिनी बालबालिकाको हत्या गरेर इसराइली प्रधानमन्त्री नेतन्याहूले विश्वभर छवि बिगारेको भन्दै विरोध हुन थालेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)