नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेरअघि सुरू भएको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए।
स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गर्नेछ।
केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरू हुँदैछ।
अध्यक्ष प्रचण्डले आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा आगामी मंसिरमा विशेष महाधिवेशन प्रस्ताव गरेका थिए। उनले केन्द्रीय समिति भंग गर्ने प्रस्ताव पनि गरेका थिए।
केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्दै अध्यक्ष प्रचण्ड संयोजक थिए।
पदाधिकारीसहित केन्द्रीय समिति सदस्य महाधिवेशन आयोजक समिति सदस्यमा रूपान्तरित गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।
पदाधिकारी बैठकको निर्णयलाई आजको स्थायी समितिले केन्द्रीय समिति बैठकको एजेन्डाको रूपमा तय गर्नेछ। त्यसपछि केन्द्रीय समितले निर्णय गरेपछि मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय अनुमोदन हुनेछ।