अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको औचित्यमाथि नै प्रश्न उठाएका छन्।
पहिलो कार्यकालदेखि नै संयुक्त राष्ट्रसंघको विरोध गर्दै आएका ट्रम्पले दोस्रो कार्यकालमा अमेरिकाले दिने पैसाको भुक्तानीमा ढिलाइ गरेका छन्।
राष्ट्रसंघ अन्तर्गतका कति संस्थाबाट अमेरिकालाई अलग्याएका छन्। विनाशकारी दोस्रो विश्वयुद्ध सकिएपछि ८० वर्षअघि बनाइएको सो संस्थाको औचित्यमाथि नै ट्रम्पले प्रश्न उठाएका छन्।
संयुक्त राष्ट्रसंघ महासभाको बैठकमा मंगलबार बोल्दै ट्रम्पले 'संयुक्त राष्ट्रको उद्देश्य के हो?' भनेर प्रश्न गरेका छन्।
आफूले नोबेल शान्ति पुरस्कार पाउनु पर्ने दाबी गर्दै आएका ट्रम्पले एक पटक फेरि धेरै युद्ध रोकेको कुरा दोहोर्याए।
संयुक्त राष्ट्रसंघले ती युद्ध रोक्न प्रयास पनि नगरेको भन्दै सो संस्थाले गर्नुपर्ने काम गरिदिएकोमा उल्टै संयुक्त राष्ट्रसंघले आफ्नो ‘एस्केलेटर’ बिगारिदिएको आरोप लगाए।
सो बैठकमा भाग लिन जाँदै गर्दा उनले प्रयोग गरेको एस्केलेटर केहीबेर बिग्रेको थियो। उनको भाषणको सुरूमै टेलिप्रम्पटर पनि बिग्रेको थियो। संयुक्त राष्ट्रसंघले नियतवश यी प्राविधिक समस्या सिर्जना गरेको ठानेझैं उनी सो संस्थाका विरूद्ध खनिएका हुन्।
निर्धारित १५ मिनेट भन्दा झण्डै चार गुणा बढी अर्थात् ५६ मिनेट बोलेका ट्रम्पले धेरै विषयमा आपत्तिजनक टिप्पणी गरेको भनेर विभिन्न मिडियाले लेखेका छन्।
मौसम परिवर्तनलाई इतिहासको सबैभन्दा ठूलो ठगी भन्दै उनले वातावरणविद्हरूले सबै गाई मार्न चाहेको आरोप लगाए। गाईले तापक्रम बढाउने मिथेन ग्यास उत्सर्जन गर्ने भएकाले मासुका लागि गाई पाल्नु वातावरणका लागि हानिकारक भएको वातावरणविद्हरूले जिकिर गर्छन्।
उनले लन्डनका मेयर सादिक खान लगायतका पश्चिमा देशका मुस्लिम नेताले शरिया कानून लगाउन खोजेको आरोप पनि लगाए। त्यस्तै इसाइ धर्म विश्वमा सबैभन्दा प्रताडित धर्म भएको दाबी पनि गरे।
आप्रवासी विरोधी नारामा राजनीति थालेका ट्रम्पले अरू विकसित देशलाई पनि आफ्नो जस्तो कडा आप्रवासी नीति अंगाल्न आग्रह गरे। आफू आप्रवासीको मामिलामा निकै राम्रो भएको औंल्याउँदै उनले 'तपाईंहरूको देश नर्कमा जाँदैछ' भनेर अरूलाई सचेत गराए।
ट्रम्पले संयुक्त राष्ट्रसंघ र अन्य देशहरू कसरी असफल भइरहेका छन् भनेर व्याख्या मात्रै गरेनन्, आफ्ना गुनासोहरूको सूची नै प्रस्तुत गरे। यसमा संयुक्त राष्ट्रसंघमा रहेको बिग्रेको एस्केलेटर, आफूले घरजग्गा कारोबार गर्दा संयुक्त राष्ट्र संघको पुनर्निर्माणको ठेक्का नपाएको लगायत विषय समावेश थियो। त्यस्तै उनले हावाबाट ऊर्जा निकाल्ने मिलदेखि लिएर ब्राजिलमा चलिरहेको शासन प्रणालीको समेत विरोध गरे।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)