नेसपा (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पदबाट राजीनामा दिने प्रस्ताव राखेका छन्।
बुधबार जारी केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव राखेका हुन्।
उक्त प्रस्तावमाथि अहिले छलफल भइरहेको नेता रोशन पोखरेलले जानकारी दिए।
भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिँदै विशेष महाधिवेशनमा जाने प्रस्तावसमेत राखेका छन्। दुर्गा सोबको नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति बनाउने तयारी छ।
पोखरेलका अनुसार भदौ २३ र २४ गते भएको जेनजी पुस्ता आन्दोलनले पार्टीहरूमा पनि नेतृत्व परिवर्तनको सन्देश दिएको थियो। उक्त कुरा भट्टराईले राजीनामा प्रस्तावमा समावेश गरेका छन्।
२०८१ फागुन १ गते भट्टराई नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदमा निर्वाचित भएका थिए।