राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक दुई दिनदेखि चलिरहेको छ।
दोस्रो दिनको बैठक बुधबार दिउँसो १ बजेदेखि सुरू भएको हो। बैठकमा केन्द्रीय सदस्यसहित पदाधिकारीहरूले पार्टी पुनर्गठन र रूपान्तरणको आवाज उठाएका छन्।
बैठकमा प्रदेश सभापतिहरूलाई लिखित सुझाव, रिपोर्टिङ पेस गर्न भनिएको थियो। तदनुरूप सातै प्रदेशका सभापतिले आआफ्ना प्रदेशको रिपोर्टिङ प्रस्तुत गरेका छन्।
तर बागमती प्रदेशमा भने असन्तुष्टि देखिएको छ। बागमती सभापति अच्युतम लामिछानेले प्रदेशका सदस्यहरूको धारणा, प्रदेशले पठाएको लिखित सुझाव पेस नगरेको र पार्टी नेतृत्व रिझाउने काम गरेको भन्दै सदस्यहरूले असन्तोष प्रकट गरेका छन्। इन्चार्ज लिमा अधिकारीले पनि यसमा असन्तुष्टि जनाएको एक सदस्यले बताए। इन्चार्ज लिमा अधिकारीले बैठकमा सभापति लामिछानेले प्रदेश सदस्यहरूको एकीकृत धारणा विपरीत राय राखेको भन्दै असन्तुष्टि जनाएकी हुन्।
बागमती प्रदेशले लिखित सुझाव नै केन्द्रलाई पठाएको थियो। बागमती प्रदेशले पार्टीभित्र स्वेच्छाचारिता बढेको निष्कर्ष निकालेको थियो।
‘पार्टी सभापतिमाथि तत्कालीन राज्य शक्तिमा भएकाहरूबाट गरिएको राजनीति प्रतिशोधपश्चात् सभापतिज्यूको अनुपस्थितिमा पार्टीको केन्द्रदेखि प्रदेश तहसम्मका नेतृत्वले गरेका अपरिपक्व निर्णय, स्वेच्छाचारी गतिविधि तथा पार्टीको विधान विपरीत गरिएका गतिविधिहरूले संगठनमा पुगेको क्षति र शुभेच्छुक तहमा छाएको निराशाले पार्टीको भविष्यमा दिगो असर पर्ने देखिन्छ,’ बागमती प्रदेशले पठाएको सुझावमा भनिएको छ।
पार्टीको मूल्य–मान्यता प्रतिकूल हुने गरी तत् तत् नेतृत्व तहबाट विभिन्न समयमा भएका कतिपय क्रियाकलापहरूले तल्लो तहका संगठनमा रहेका जिम्मेवार साथीहरूमा आघात पुगेको पनि बागमती प्रदेशले निष्कर्ष निकालेको थियो।
‘नियतवश सिर्जना गरिएका अनावश्यक विवादहरूले संगठनमा निष्क्रियता पनि बढ्दै गएकोले नेतृत्व आत्मा–आलोचित हुनुपर्ने आवश्यकता छ। नैतिक जिम्मेवारी देखाउन पनि उत्तिकै जरूरी देखिन्छ,’ सुझावमा उल्लेख छ।
गत भदौ २४ गते नख्खु कारागारबाट सभापति रवि लामिछानेलाई निकाल्न सामाजिक सञ्जालबाट खुला आह्वान गर्दा, पार्टीका नेताहरू संलग्न हुने घटनाले पार्टीलाई क्षति पुगेको र संलग्नहरूलाई कारबाही गर्न सुझाव दिइएको छ।
_page-0001-1758715553.jpg)
_page-0002-1758715553.jpg)
_page-0003-1758715554.jpg)