नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रम केन्द्रित छलफल भएको छ।
लामो समयपछि बुधबार दिउँसो नेता कोइराला र महामन्त्री थापाबीच कुराकानी भएको हो। उनीहरूबीच गत जेठ १७ गतेपछि भेटवार्ता भएको थिएन।
‘नेता कोइराला र महामन्त्री थापाबीच पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाकेन्द्रित कुराकानी भएको हो,’ भेटवार्ताबारे जानकार कांग्रेसका एक नेताले सेतोपाटीसँग भने, ‘भेटवार्ता सौहार्दपूर्ण रह्यो।’
भदौ २३ र २४ गते जेनजी पुस्ताले आन्दोलन गरेपछि कांग्रेस सम्मिलित केपी शर्मा ओली सरकार ढलेर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव घोषणा गरेका छन्।
कांग्रेसले संस्थागत रूपमा प्रतिनिधि सभा विघटनको विरोध गरेको छ। तर नेता कोइराला र महामन्त्री थापा भने पार्टी चुनावमा जानुपर्ने मत राखिरहेका छन्। उनीहरूले नेतृत्व र नीति परिवर्तन गरी चुनावमा भाग लिनुपर्ने कुरा राखेका हुन्।
महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समिति बैठकमै नियमित वा विशेष महाधिवेशनको प्रस्ताव राखेका थिए तर सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेताहरूले त्यसको विरोध गरेका थिए।
नेता कोइराला पनि नेतृत्व परिवर्तन गरेर चुनावमा जानुपर्ने पक्षमा छन्।
यसबीचमा नेता कोइराला र महामन्त्री थापा पक्षका नेताहरूले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान थालेका छन् भने यस्तो हस्ताक्षर अभियानले पार्टी विभाजनमा जान सक्ने सभापति देउवानिकट नेताहरूले विज्ञप्ति नै निकालेर दाबी गर्दै आएका छन्।
यस्तो परिस्थितिमा नेता कोइराला र थापाबीच आज भेट भएर कुराकानी भएको हो।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा कोइराला सभापति पदमा उम्मेदवार भएर देउवासँग पराजित भए भने सोही टिमबाट उम्मेदवार रहेका थापा महामन्त्री जितेका थिए। त्यसबेला कोइरालाले महाधिवेशन प्रतिनिधिहरूको ४० प्रतिशत मत र महामन्त्रीमा थापाले ६४ प्रतिशत मत ल्याएका थिए।
कांग्रेस विधानमा ४० प्रतिशत केन्द्रीय सदस्य वा महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरे सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
सभापति देउवामाथि पदबाट राजीनामा दिन संस्थापनइतर समूहले दबाब बढाएको छ भने सभापति देउवा पक्ष अब सभापति पदमा देउवा विधानअनुसार पनि उठ्न नमिल्ने भएकोले कार्यकाल पूरा गर्न दिन आग्रह गरिरहेको अवस्था छ।
सभापति देउवा पक्षले केन्द्रीय समिति बैठक राखेर एक वर्ष कार्यकाल थप गर्ने तयारी गरेको भन्दै संस्थापनइतर समूह नियमित वा विशेष महाधिवेशन पक्षमा जुटेको छ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आक्रमणबाट घाइते भएका सभापति देउवा अस्पतालबाट डिस्चार्ज भइसकेका छैनन्।
नेता कोइराला र महामन्त्री थापाले अबको केन्द्रीय समिति बैठकबाट साझा धारणा आउने बताइरहेका छन्। तर पार्टीलाई रूपान्तरण गरिछाड्ने उनीहरूको भनाइ छ।