राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नख्खु कारागारबाट पार्टी सभापति रवि लामिछानेलाई निकालिएको घटनाको छानबिन गर्ने भएको छ।
बुधबार सकिएको केन्द्रीय समिति बैठकले छानबिन समिति बनाउने सैद्धान्तिक निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनिष झाले नख्खु कारागारसहित भदौ २४ गते देशका अन्य स्थानमा भएको आगजनीमा पार्टी सदस्यहरूको संलग्नताबारे छानबिन गर्ने निर्णय भएको बताए।
छानबिन समितिको संयोजक को रहने भन्ने चाहिँ बताइएको छैन।
'भदौ २४ गते नख्खु कारागार लगायत अन्य केही स्थानहरुमा भएका घटनाहरूमा पार्टी सदस्यहरूको सम्भावित संलग्नता भएको नभएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय भएको छ,' उनले भने।
भदौ २४ गते नख्खु कारागारबाट सभापति लामिछानेलाई बाहिर ल्याइएपछि त्यसको आलोचना भएको थियो।
सभापति लामिछाने निकाल्दै गर्दा कारागारमा आगजनीसमेत भएको थियो।
आगजनी भइरहँदा पार्टीका प्रवक्ता मनिष झा पनि देखिएको भिडियो सार्वजनिक भइरहेको छ। प्रवक्ता झाले भने आफू आगजनी रोक्न गएको प्रष्टीकरण दिएका छन्।